जापानमा कोभिड -१९ कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु, दर्जनौ नेपाली कोरोना संक्रमित

-


     जनहित न्युज    
     श्रावण ३० गते २०७८


जापानमा कोभिड -१९ कोरोना संक्रमण हवात्तै बढ़ेसंगै अस्पतालमा बिरामीको चापले शैया अभावकै कारण उपयुक्त उपचार नपाउदा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ ।
नेपालको मुस्ताङ ज़िल्ला टुक्चे स्थायी घर भै हाल राजधानी टोकियोको शिनकोईवा बस्ने ४५ वर्षीय उज्वल तुलाचन कोभिड-१९ कोरोना संक्रमित भै आवश्यक उपचार प्राप्त हुन नसक्दा गत बिहिबार मृत्यु भएको बताईएको छ ।
डेढ दशकदेखि श्रीमतिसंगै जापानमा बसदै आएका तुलाचन श्रीमतिसंगै कोरोना संक्रमित भएपछि उपचारको लागि अस्पतालमा गएपनि अस्पतालमा शैया अभावका कारण घरमै बसेर आराम गर्न भनिएको थियो । घरमै बस्दा अवस्था चिन्ताजनक हुदै गएपछि स्थानीय अस्पतालमा जादा अक्सिजन सहित अत्यावश्यक उपचार सामग्रीको अभाव कै कारण थप उपचार हुन नसक्दा तुलाचनको मृत्यु हुन पुगेको पारिवारिक दाबी छ । तुलाचनको कोरोना संक्रमितपश्चात अस्पताल जादा १२० नम्बरमा पालो परेर समय मै आवश्यक उपचार गराउन असमर्थ हुन पुगेको बताइन्छ ।
जापानद्वारा जारी कोरोना संक्रमित मापदण्डलाई ध्यानमा राखेर तुलाचनको शवलाई जापानी अधिकारीहरूले नै अन्तिम संस्कार गरेका र परिवारलाई भिडियोमार्फ़त शव देखाइएको बताईएको छ । मृतक तुलाचनकी श्रीमति जापानी नागरिक रहेकी छन । उनका नेपालमा भाइ र बहिनी रहेको बुझिएको छ ।
पछिल्लो दिनमा जापानमा नेपाली समुदायका नागरिकमा कोरोना संक्रमित हुनेको संख्या उल्लेख्य रहेको पाईएको छ । भाषा अभावका कारण आवश्यक उपचारमा समेत समस्या सृजना भएको देखिन्छ । जापानका विभिन्न अस्पतालमा कतिपय नेपाली नागरिकहरू सघन उपचार कक्षमा समेत उपचार गराइरहेका छन भने कतिले अस्पतालले तोकेक़ो समय पर्खाइमा घरमै बस्न बाध्य रहेका छन ।
कतिपय नेपालीहरूले एम्बुलेंस सेवाका बारेमा स्पष्ट जानकारी नभई अस्पताल गएर फिर्ता हुने सवारी साधनको अभावमा उपचार सेवा लिनबाट बन्चित हुनुपरेको छ ।
नेपाली दूतावासले समेत एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाउन र अनावश्यक भिड़भाड नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।
जापानमा पछिल्ला एकै दिनमा २० हजारभन्दा बढ़ी मानिस कोरोना संक्रमित हुन पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?