गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापालाई कोरोना संक्रमण भएको हो ।
हाल दुवै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा मन्त्रीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
दुवैजना मन्त्री केही दिनअघि पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
दुवै मन्त्रीका परिवार र सचिवालयका अन्य सदस्यको कोरोना परीक्षण गर्दा अन्य कसैको पनि रिपोर्ट पोजेटिभ नआएको बताइएको छ ।