
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुर्सीमा पुग्नका लागि मात्रै पार्टी एकताको नाटक गरेको आरोप लगाएका छन्।
पार्टीको शनिबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले यस्तो आरोप लगाएका हुन्।
‘०७५ जेठ ३ गते नेकपा एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्माण भयो। यसले नेपाली जनताको र कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशिल, देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश र उर्जा प्रवाह गर्यो।’
प्रचण्डले लेखेका छन्, ‘तर, पार्टीका तत्कालीन अर्का अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकताको उद्देश्य भने आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरंकुश बन्ने मात्रै रहेको कुरा स्पष्ट हुँदै गएको छ।’
पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मुल मर्ममाथि नै निरन्तर प्रहार गरेको उनको आरोप छ। पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउन, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने, दलाल नोकरशाही पूँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धि संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ।
ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत सदस्यहरु खडा हुने स्थिती बनेपछि आत्मआलोचित हुनुको सट्टा झनै निरङ्कुश र तानाशाही बनेको आरोप प्रचण्डले लगाएका छन्।
दुई पटक प्रतिनिधिसभा विघटन गरेर ओली र उनका गुटले अहंकार, दम्भ, पदलोलुपता, राष्टिय आत्मसमर्पणवादी र दक्षिणपन्थी अवसरवादका कारण नै नेकपा विभाजन भएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।
नेकपा विभाजित भइसकेपछि इमान्दार कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै फेरि क्रान्तिकारी कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गर्ने सवालमा ऐतिहासिक जिम्मेवारी आएको उनले स्पष्ट पारेका छन्।
प्रतिवेदन सबै केन्द्रीय सदस्यलाई वितरण गरेर समूहगत छलफलको तयारी गरिएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ८ वटा समूहले समूहगत छलफल गरी निकालेको निष्कर्ष आइतबार बस्ने बैठकमा पेश गर्नेछन्।
(हेर्नुहोस् प्रचण्डको प्रतिवेदनको पूर्णपाठ)








थाहा खबरबाट साभार