एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट दिपक कंडेलको उम्मेदवारी घोषणा

-


     जनहित न्युज    
     फागुन १ गते २०८२


टोकियो, जापान ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक (RC) पदमा जापानबाट अभियन्ता दिपक कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय कंडेलले संस्थागत सुदृढीकरण र दोस्रो पुस्ताका नेपालीलाई संघमा जोड्ने एजेन्डासहित उम्मेदवारी दिएका हुन्।

एनआरएनएमा एक दशकको यात्रा

सन् २०१५ मा एनआरएनए जापानको कार्यसमिति सदस्यबाट आफ्नो यात्रा सुरु गरेका कंडेलले दुई कार्यकाल सदस्यको रूपमा काम गरिसकेका छन्। सन् २०१९-२१ कार्यकालमा उनले एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे। हाल उनी सोही समितिको उप-संयोजकका रूपमा दोस्रो कार्यकाल पूरा गर्दैछन्। जापानमा सफल युवा व्यवसायीका रूपमा स्थापित कंडेल बहुकोट समाज जापानका अध्यक्ष समेत हुन्।

युवा र दोस्रो पुस्ताको मुद्दा प्राथमिकतामा

कंडेलले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई एनआरएनएलाई प्रविधिमैत्री र पारदर्शी बनाउनका लागि भएको बताएका छन्। उनले भने, “एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता आजको आवश्यकता हो। सबैको अपनत्व महसुस हुने गरि प्रविधिमैत्री एनआरएनए र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने स्पष्ट योजनाका साथ म मैदानमा उत्रिएको छु।”

उनले आफ्नो कार्यकालमा ‘एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता’ सफलताका साथ सम्पन्न गरेको स्मरण गर्दै नयाँ पुस्तामा रहेको प्रतिभा र नेपालप्रतिको मोहलाई संगठित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

मुख्य कार्ययोजना र एजेन्डाहरू

कंडेलले आफ्नो उम्मेदवारीका मुख्य बुँदाहरू यसरी प्रस्तुत गरेका छन्:

  • संस्थागत सुदृढीकरण: एनआरएनएलाई पारदर्शी, गतिशील र विवादरहित बनाउन नेतृत्वलाई घच्घच्याउने।
  • दोस्रो पुस्ताको सहभागिता: प्रवासमा रहेका नेपाली किशोर-किशोरीहरूलाई नेपालको कला, संस्कृति र पहिचानसँग जोड्ने विशेष कार्यक्रम ल्याउने।
  • स्वास्थ्य सचेतना: प्रवासी नेपालीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक तथा भर्चुअल माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
  • विवाद समाधान: संस्थाभित्रको वर्तमान विवादलाई सहमति, सहकार्य र सबैको आत्मसम्मान कायम हुने गरी समाधान गर्न नेतृत्वलाई रचनात्मक सुझाव दिने।

डेलिगेट्ससँग मतको अपिल

आफुले विगतमा पाएको जिम्मेवारी पूर्ण इमान्दारिताका साथ निभाएको दाबी गर्दै कंडेलले यसपटक एसिया प्यासिफिक क्षेत्रका डेलिगेट्सहरूले आफूलाई विश्वास गर्नेमा ढुक्क रहेको बताए। “मैले संस्थाको मर्म र भावना अनुरूप सधैं काम गरेको छु। एसिया क्षेत्रका सबै डेलिगेट्स मित्रहरूलाई मलाई मतदान गरि सेवा गर्ने अवसर दिन हार्दिक अनुरोध गर्दछु,” उनले अपिल गरे।

सरल र मिजासिलो स्वभावका धनी कंडेललाई जापानका नेपाली समुदाय र एसिया प्यासिफिक क्षेत्रका एनआरएनए अभियन्ताहरू माझ एक भरपर्दो पात्रका रूपमा हेरिएको छ।

उम्मेदवार कंडेलको अपील: “नेपालप्रतिको प्रतिबद्धता नै मेरो प्रेरणा हो”

उम्मेदवारी घोषणासँगै कंडेलले एसिया प्यासिफिक क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई सम्बोधन गर्दै एक भावनात्मक र योजनावद्ध अपील समेत जारी गरेका छन्। उनले आफ्नो अपीलमा भनेका छन्:

“विदेशमा बसेर नेपाल र नेपालीको पहिचान, अधिकार, अवसर र हित संरक्षणका लागि आवाज उठाउँदै आउनुभएका सम्पूर्ण सहयोगी र शुभेच्छुकहरूमा सादर अभिवादन। एनआरएनए अभियानको लामो अनुभव र तपाईँहरूको अटुट विश्वासले मलाई आगामी कार्यकालका लागि एसिया–प्यासिफिक क्षेत्रीय संयोजक (RC) पदमा उम्मेदवारी दिने उर्जा प्रदान गरेको छ।”

कंडेलले आफ्नो कार्यकालका लागि ५ बुँदे मुख्य प्राथमिकताहरू समेत सार्वजनिक गरेका छन्:

पुस्तान्तरण र दोस्रो पुस्ताको जुड़ाव: विदेशमा हुर्कँदै गरेका हाम्रा दोस्रो र तेस्रो पुस्ताका नेपाली बालबालिकालाई ‘ग्लोबल वक्तृत्वकला’ जस्ता सिर्जनात्मक माध्यमबाट नेपालको भाषा, संस्कृति र पहिचानसँग जोड्न विशेष पहल गर्नेछु।

युवा नेतृत्व र सहभागिता: एनआरएनएलाई युवामैत्री बनाउँदै उनीहरूको ऊर्जा र सीपलाई संस्थाको मूलधारमा समाहित गर्ने स्पष्ट योजना कार्यान्वयन गर्नेछु।

आर्थिक कुटनीति र सीप साझेदारी: एसिया–प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूको सीप, पुँजी र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्ने ‘व्यवसायिक पुल’ निर्माणमा सक्रिय रहनेछु।

पारदर्शिता र संस्थागत सुदृढीकरण: संस्थाभित्र पारदर्शिता कायम गर्दै सबैको अपनत्व महसुस हुने गरी मर्यादित र प्रविधिमैत्री एनआरएनए बनाउन मेरो पूर्ण प्रयास रहनेछ।

आपतकालीन राहत र सुरक्षा: यस क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा विद्यार्थीहरूका समस्या समाधान र आपतकालीन संकटमा ‘छिटो र छरितो’ राहत संयन्त्रलाई थप प्रभावकारी बनाउनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?