नेपाललाई वर्ल्ड केन्पोकाई च्याम्पियनसिपमा रजत पदक

-


     जनहित न्युज    
     श्रावण २९ गते २०८२


जापानको हमामात्सुमा सम्पन्न वर्ल्ड केन्पोकाई च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

अन्तिम दिन, नविन आचार्यले आइआइदो कातामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्दै नेपालको लागि गौरवपूर्ण सफलता दिलाएका हुन्। साथै, प्रशिक्षक नविन आचार्य र नारज बहादुर खड्का (हरि)ले क्रमशः ६औँ डान र ७औँ डानको प्रतिष्ठित परीक्षा उत्तीर्ण गर्दै व्यक्तिगत तहमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

नेपाल केन्पोकाई संघले यो उपलब्धिलाई “मेहनत, प्रतिबद्धता र राष्ट्रिय भावनाको प्रतिक” भन्दै टिमका सबै खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाई ज्ञापन गरेको छ। संघले आगामी दिनमा अझ उच्च लक्ष्यका लागि प्रतिबद्ध रहने जनाएको छ।

प्रतियोगितामा नेपालबाट खेलाडी मेनुका अधिकारी र बामदेव सुवेदी, प्रशिक्षक नविन आचार्य, तथा अफिसियल प्रतिनिधि नारज बहादुर खड्का (हरि) र जुना लमिछाने सहभागी थिए।

नेपाली राष्ट्रिय टोलीको सम्मानमा एभरेष्ट फुजी सोसाइटी, हमामात्सु–जापानले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सोसाइटीका अध्यक्ष बिशाल शर्माले “नेपालका छोरी–छोराहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न जापान आइपुग्नु गौरवको कुरा हो। हाम्रो समाज सदैव यस्ता प्रतिभाहरूको साथमा रहनेछ,” भन्दै आफ्नो धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन उपाध्यक्ष नारायण सापकोटाले गरेका थिए भने कोषाध्यक्ष सुमन सुनारले पनि आफ्नो भनाइ राखेका थिए। कार्यक्रमको समन्वय भूपेन्द्र कुमार गोलेले गरेका थिए। विदाईका क्रममा BJN International का तर्फबाट खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?