रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु

-


     जनहित न्युज    
     भाद्र २८ गते २०८१


रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने ।

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान स्थानिय प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ताअघि काठमाडौं आएकी थिइन् । काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको प्रजिअ शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?