काठमाडौं । राजनीतिक दलका नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् । सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले एमालेसँग संवाद थाल्न सभामुखलाई सुझाव दिएका हुन् ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई आग्रह गरेका छन् । बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।
उनीहरुले एमालेसँगको संवादपछि मात्र संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेका छन् । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले लगातार संसद अवरुद्ध पारेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका थिए ।
तर एमालेले बैठक बहिष्कार गरेको थियो । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमालेनै बैठकमा नआएपछि कुनै निष्कर्षमा नपुगेको जानकारी दिइन् । पौडेलले एमालेसँग संवाद बढाएर सभामुखले फेरि अर्को सर्वदलीय बैठक डाक्ने बताइन्। ‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिदैन भन्ने सुझाव नेताहरूको थियो,’ पौडलेले बैठकबारे जानकारी गराउँदै पत्रकारहरुमाझ भनिन्, ‘फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’
प्रतिनिधिसभाको नवौं अधिवेशनमा निरन्तर अवरोध गरिरहेको नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा उपस्थिति जनाएन । बैठकबाट निस्किएर सञ्चारकर्मीसँग कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ठोस निष्कर्ष नआएको सुनाए । उनले भने, ‘केही निष्कर्ष आएको छैन ।’
सभामुखले के भन्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले जवाफ दिए- ‘सभामुखले भन्नुभयो-मैले छलफल गरिरहेको छु । सदन खुलाउन अझै पहलकदमी गर्छु ।’
बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।