
हाम्रो पुस्ताले राजनीति बुझ्दै गर्दा देशको परिस्थिति आजको जस्तो सहज थिएन। गाउँ-बस्तीमा सशस्त्र युद्धको राप थियो। दरबार हत्याकाण्डको सन्त्रासले देश स्तब्ध थियो। हात-हातमा मोबाइल र गोजी-गोजीमा इन्टरनेट हुने त कल्पना बाहिरको कुरा थियो। सूचनाको एउटै भरपर्दो स्रोत थियो— ‘एकथान रेडियो’।
अभाव, संकट र त्रासको त्यो धमिलो समयमा पनि म एउटा मान्छेलाई सम्झिन्छु, जो ब्याट्रीबाट चल्ने सानो हाते माइक बोकेर गाउँ-गाउँमा भाषण गर्दै हिँड्थ्यो। अनुहारमा एउटा विशिष्ट शालिनता र बोलीमा अदम्य साहस बोकेर हिँड्ने ती पात्र थिए— ज्ञामनाथ गैरे (अनिल)।
युद्धको राप र गणतन्त्रको त्यो सपना
आकाशमा सैन्य हेलिकप्टर थर्किरहेका हुन्थ्यो, सडकमा सुरक्षा फौजको बाक्लो गस्ती हुन्थ्यो। देशमा संकटकाल लागेको त्यो कठोर समयमा पनि अनिल भने मन्द मुस्कुराउँदै निडरताका साथ गाउँका गोरेटोहरूमा लुखुर-लुखुर हिँडिरहेका भेटिन्थे। कतिखेर दोहोरो भिडन्त हुने हो, कसैलाई पत्तो हुँदैनथ्यो। तर, अनिलको जोस कहिल्यै कम भएन।
उनले त्यतिबेलै भन्ने गर्थे, “नयाँ संविधान लेख्नुपर्छ, गणतन्त्र ल्याउनुपर्छ, समानुपातिक व्यवस्था हुनुपर्छ।” त्यो समय धेरैलाई ‘गणतन्त्र’ भनेको के हो भन्ने नै थाहा थिएन। मैले एकपटक उनैलाई सोधेको थिएँ— “गणतन्त्र भनेको के हो?” उनले बडो सरल भाषामा बुझाएका थिए, “गणतन्त्रमा सबै मान्छे समान हुन्छन्, जनताको छोराछोरीको हातमा अधिकार आउँछ र जनताले नै सबै कुराको निर्णय गर्न सक्छन्।” जसको मुखबाट मैले पहिलो पटक गणतन्त्रको परिभाषा सुनेको थिएँ, आज तिनै पात्र गणतान्त्रिक नेपालमा पहिलो पटक जनताको बीचमा मत माग्न उभिएका छन्।
दुई दशकको निष्ठा र त्याग
बागलुङ जिल्लाको तत्कालीन आन्दोलनमा अनिलका थुप्रै सहयात्रीहरूले सहादत प्राप्त गरे। भाग्यले बाँचेका अनिलले पछिल्ला दुई दशकमा कहिल्यै ‘लाभको पद’ खोजेनन्। कसैलाई नमिठो बोलेनन्। झट्ट हेर्दा लाग्छ— यति सरल र शालिन मान्छे कसरी त्यो कठिन भूमिगत जीवन बाँचेर आयो होला?
सधैँ जनताको सुख-दुःखमा हातेमालो गर्दै हिँड्ने ज्ञामनाथ गैरे (अनिल) अहिले बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।
किन अनिललाई चुन्ने?
चुनाव एउटा लोकतान्त्रिक प्रक्रिया मात्र होइन, यो योग्य पात्र छान्ने अवसर पनि हो। जुनसुकै पार्टीको आस्था भए पनि एउटा कुरा सत्य हो— ‘राम्रो मान्छे’ले चुनाव जित्नुपर्छ। अनिल तिनै राम्रा मान्छेमध्येका एक हुन्।
• अनुभव र विचार: उनी विचार र संघर्षले खारिएका पुराना र पाका नेता हुन्।
• निष्ठा: दुई दशकसम्म सत्ता र शक्तिको लोभ नगरी जनताकै बीचमा रहे।
• न्याय: कठिन परिस्थितिमा जनताको न्यायका लागि लडेका उनलाई अब जनताले न्याय गर्ने बेला आएको छ।
देश अहिले पनि कठिन घडीमा छ। जनताका सपना र समस्याहरू उस्तै छन्। यी सपनाहरू पूरा गर्न र संसद्मा जनताको आवाज बुलन्द पार्न अनिलजस्ता इमानदार पात्रको खाँचो छ। बागलुङमा अरू पनि सक्षम नेताहरू हुनुहोला, तर यसपटक अनिलको भूमिका र त्यागलाई चिन्नु हामी सबैको कर्तव्य हो।
राम्रा मान्छे नहारून् र नराम्राले नजितून्— हाम्रो चाहना यत्ति हो। र, ज्ञामनाथ गैरे (अनिल) यो कसीमा खरो उत्रिएका पात्र हुन्।



