‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा कार्यक्रम सम्पन्न, विद्यार्थीलाई ‘जापानी स्कूल ब्याग’ वितरण

-


     जनहित न्युज    
     असाेज २५ गते २०८०


काठमाडौँ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका विभिन्न पालिकामा रहेका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई जापानी स्कूल ब्याग वितरण गरेको छ ।

राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित औपचारिक कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको हो ।

एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो । विभिन्न पालिका मातहतका १२ विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्ने गरी प्राप्त कुल ५०० थान झोला एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाइ र निवर्तमान संयोजक हरि श्रेष्ठको पहलमा एनआरएनए जापानलाई प्राप्त भएको उनले बताए ।

सबै ब्याग जापानबाट नआइसकेको भन्दै उनले आएका मध्येबाट सीमित थान ब्याग सम्बन्धित विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको र बाँकी ब्याग प्राप्त हुने वित्तिकै तोकिएबमोजिम थप हस्तान्तरण गरिने उनको भनाइ छ । 

उनका अनुसार गलकोट नगरपालिका, ठोरी गाउँपालिका, मुसिकोट नगरपालिका, आमाछोदिङ्मो गाउँपालिका, जलजला गाउँपालिका, फिदिम गाउँपालिका, बराहताल गाउँपालिका, बुटवल महानगर पालिका, सोडारी गाउँपालिका, तारकेश्वर गाउँपालिका र बेनी नगरपालिकाका मातहतका तोकिएको विद्यालयका साथै इन्द्रेणी समाजद्वारा सहयोग गरिएका बालबालिकाहरूलाई जापानी स्कूल ब्याग वितरण गर्ने निर्णय भएको हो । यी विद्यालयलाई उपलब्ध भएसम्म १० देखि ३० वटासम्म ब्याग उपलब्ध गराइने बताइएको छ । 

एनआरएनए डे भव्य रूपमा मनाउने राष्ट्रिय समन्वय परिषद्को निर्णय बमोजिम यस वर्ष नेपालका बिभिन्न जिल्लामा रहेका जेहेन्दार र विपन्न बालबालिकालाई जापानको एक क्लबद्वारा एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाइको पहलमा एनआरएनए जापानलाई प्राप्त भएका ब्याग हस्तान्तरण गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए । 

उक्त ब्याग जापानको सेन्दाइ स्थित एक क्लबले क्षेत्रीय समिति र श्रेष्ठमार्फत एनआरएनए जापानलाई उपलब्ध गराएको हो । पालिका अन्तर्गतको विद्यालयमा प्रदान गरिएको झोला काठमाडौँबाट लैजान र विद्यार्र्थीसम्म पुर्याउन आवश्यक व्यवस्था स्वयम् सम्बन्धित विद्यालय वा पालिकाले खर्च बेहोरेको उनको भनाइ छ । 

एनआरएन जापानका अध्यक्ष नविन निउरेको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल, आईसीसी सदस्य सुपेन्द्र घिसिङ, श्रवण सत्याससहित अन्य अभियन्ताहरु विकास बस्नेत, देविका केसी, संगीता अधिकारी, हबल चन्द्र लामा, माधव प्रसाद खरेल, सुवास लामिछाने, सिद्धार्थ श्रेष्ठ, सचिव दिपेश खत्री, युवा संयोजक मुक्तिराज रेग्मीलगायतको सहभागिता थियो । 

ब्याग हस्तान्तरण कार्यक्रमको संचालन एनआरएनए जापानका महासचिव टीकाराम खरेल, स्वागत उपाध्यक्ष सुवास लामिछाने          र कार्यक्रमको उदेश्यमाथि प्रकाश प्रवक्ता खगराज गौतमले पारेका थिए । कार्यक्रममा कलाकार खुमन अधिकारी, पत्रकार राजकुमार सिग्देल, गोकर्ण अधिकारी, इन्द्रेणीका सञ्चालक कृष्ण कडेललगायतको आतिथ्यता रहेको थियो ।

 यसैबीच क्लबकै प्रतिनिधिले पछि बुटवल महानगरपालिकामा प्राप्त ब्याग मध्य १५० थान ब्याग बुटवलमा छुट्टै कार्यक्रम गरेर सम्बन्धित विद्यालयका विद्यार्थीलाई हस्तान्तरण गर्ने पनि जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?