दुवै मृगौला फेल भएर अस्पतालको बेडमा छटपटाई रहेकी छोरीको उपचारका लागि गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले संकलन गरेको रकम बुझ्दा उनका आखा आशुले भरिए । उपचारार्थ रकम हस्तान्तरणका लागि शनिबार बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीमा आयोजित कार्यक्रममा मलिन अनुहार लिएर १९ वर्षीय छोरी मुना सुनारको जीवन रक्षाको याचना गरेकी लालमाया सुनारले ५ लाख ३५ हज़ार समात्दा भक्कानो छुटाउदै भनिंन मेरो छोरीको जीवन बचाउन भगवान बनेर आउनुभयो अब केहि आशा पलाएको छ ।
लाऊँ लाऊँ खाऊँ खाऊँ भन्ने बेलामा दुवै मृगौला फेल भएर अस्पतालको बेडमा छटपटाई रहेकी छोरीको हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको र नियमित डायोलाइसिस गर्ने रक़मको अभावमा अब के गर्ने भनेर अताल्लिरहेको बेला भगवानको साक्षात् रूप बनेर कान्तो क्षेत्रीय समिति आएकोमा अब छोरी बाच्ने र उपचारमा सहजता आउने आशा लागेको लालमायाले बताईन ।
उनीमाथि अर्की सौता ल्याएर १५ वर्षदेखि श्रीमानको अपहेलना सहदै माइती गाउ पाण्डवखानीमा अरुको गोठ बारेर दैनिक ज्यालादारीमा ४ जना सन्तानको लालनपालन का साथमा ९८ वर्षीय आमाको स्याहार सुसारमा गरेर दुःखजीलो जीवन निर्वाह गरेकी लालमायाको छोरी मुनाको बिरामीले सहि नसक्नु पिडा थपिएको कारुणिक अवस्था देखेर उपचारार्थ आर्थिक अभियान संचालन गरेर संकलित रक़म हस्तान्तरण गरिएको कान्तो क्षेत्रीय समितिका उपाध्यक्ष हिमाल कंडेलले बताए ।
बुटवलमा उपचाररत रहेकी मुनाको पारिवारिक अवस्था अत्यन्त कमजोर रहेको र उनको उपचार खर्च जुटाउन सक्ने अवस्था नै नरहेको सन्दर्भमा मानवीयताको आधार र उनको जीवन रक्षाका लागि हामीले केहि सहयोग गर्न सके त्यसको ठूलो अर्थ र महत्व राख्ने ठानेर छोटों समयमा अभियानको संचालन गरिएको र संकलित रकम उनको परिवारलाई तत्काल नै हस्तान्तरण गरिएको समितिका सचिव दिनेश थापाले बताए ।
अरुको गोठमा अस्थायी रूपमा बसेर गरिबीको चरम अवस्थाबाट गुजृदै कक्षा १२ मा अध्ययनरत जेहनदार छात्रा मुनामा पारेको स्वास्थ्य सम्बन्धी बज्रपात सहन गर्नै नसकिने र सो परिवारले उनको उपचारमा खर्च बहन गर्न नसकी भौतारिरहेको बेला कान्तो क्षेत्रीय समिति जापानले जुन सहयोग गरेको छ त्यसले उनको जीवन रक्षामा महत्वपूर्ण सहयोग पुर्याएको पाण्डवखानी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नवीन भावुकले बताए ।
बिरामी मुनाको दुइ वटा नै मृगौलाले काम गर्न छाडेको, हाल डायोलाइसिस प्रक्रियामार्फत उपचार भैरहेको त्यो उपचारको विधि निकै खर्चिलो रहेकोले उनको पारिवारिक अवस्था अनुसार उक्त खर्च जुटाउन नसकी बिरामी मृत्युको मुखमा जानबाट जोगाउन सकिन्छ कि भन्ने उद्देश्यले जापानमा बस्नेहरूसँग गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिको संयोजनमा संकलित रकम पाण्डवखानीका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, शिक्षाप्रेमी तथा समाजका अगुवाहरूको उपस्थितिमा आमा लालमायालाई हस्तान्तरण गरिएको अध्यक्ष रमेशकुमार खत्रीले जानकारी गराए ।
समितिले संचालन गरेको यस अभियानमा १ सय ६७ जनाले आर्थिक सहयोग गरेको कोषाध्यक्ष इश्वर बस्नेतले जानकारी दिए ।
आर्थिक अभाव र प्रत्यारोपण गर्ने मृगौलाको व्यवस्थापन गर्न नसक्दा अहिले डायोलाइसिस प्रक्रियामार्फत उपचार गरिरहेको र सबैतिरको सहयोग र सत्भाव जुटेमा छिट्टै प्रत्यारोपण गर्ने सोच रहेको आमा लालमायाले बताईन ।
आफ़नो परिवारको अवस्था दैनिक हातमुख जोड़नपनि धौ धौ रहेको बेला छोरीका लागि ठुलो ऋण गरेर उपचार गराईरहेकोले थप उपचारका लागि २०ओैँ लाख खर्च हुने देखिएकाले अन्य सहयोग दाताहरूका लागि ग्लोबल आईएमई बैंक गलकोट शाखामा राजन सुनार र लिल बहादुर काउचाको नाममा रहेको संयुक्त खाता नं. 9407010054737 मा रकम जम्मा गरिदिई समेत उनले अनुनयन गरेकी छन ।
शनिवार नै कान्तो क्षेत्रीय समितिले सहयोग रकम हस्तान्तरण कार्यक्रममा अन्य सहयोगी मनहरूमार्फत थप ७१ हजार रकम संकलन भएको थियो ।