मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन्।
नेपाली राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटमा व्यस्त रहेकी सुमारले जाँदाजाँदै पत्रकार सम्मेलन आयोजना गर्दै एमसीसी संसदबाट अनुमोदन हुनेमा आशावादी हुँदै अमेरिका फर्किन लागेको बताइन् ।
‘राजनीतिक दलका नेता, मन्त्री, सांसद तथा नागरिक समाजलाई मैले एमसीसीबारे स्पष्ट पार्ने प्रयास गरेँ । उहाँहरूसँगको भेटपछि एमसीसी परियोजना अनुमोदन हुनेमा आशावादी हुँदै म वासिङ्टन फर्किँदै छु,’ उनले भनेकी छिन् ।
‘अमेरिका-नेपालबीचको सात दशकभन्दा पुरानो औपचारिक सम्बन्ध, त्यसयता भएका अनेकौँ द्विपक्षीय सहकार्यका परियोजनाले नेपाललाई समृद्धिको यात्रामा अग्रसर हुन टेवा पुगेको छ। एमसिसी अनुमोदन नभए पनि हाम्रो सुमधुर सम्बन्धमा कुनै असर पर्नेछैन,’ नेपालको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि आज अपराह्न यहाँ पत्रकार सम्मेलन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले भनिन्, ‘विगतका विकास परियोजनाले नेपालसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्न सघाएका छन्।’
आफूले भेटेका सबै नेताले एमसिसी नेपालका लागि लाभदायक रहेको बताएको छिटै पास गर्ने आश्वासन दिएकाले यसमा आफू आशावादी भएको उनले बताइन्।
सरकारले एमसिसीबारे अमेरिकालाई पत्र लेखेको थियो । सो पत्रको लिखित जवाफ दिएको र आफैँले पनि भेटेर राजनीतिक दलका नेता, मन्त्री, सांसद र नागारिक समाजका मानिसलाई थप स्पष्ट पार्ने प्रयास गरेको उनले बताइन् ।
सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आएकी उनले प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायतलाई बेग्लाबेग्लै भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गरेका थिए।