
पृष्ठभूमी
गल्कोट समाजले गल्कोटका लागि थुप्रै कामहरू गरेको छ । अझै राम्रो कुरा त संसारभरि छरिएर रहेका गल्कोटेहरूलाई पनि एउटै छातामुनी जोडिरहेको छ । यो शुखद पक्ष हो । गल्कोट छाडेर अन्यत्र बसेकाहरूले पनि गल्कोट समाजका माध्यमबाट गल्कोट प्रति चिन्तन र माया दर्शाईरहेका छन् ।यस्तो राम्रो कर्म गरिरहेको समाजको जापानको नेतृत्वले यसबारे गम्भिर भएर सोच्न सकेन भने यसको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुनेछ ।
गल्कोट समाज केन्द्रिय समितिले यसको स्वामित्व ग्रहण गरेर आफ्नो मातहतका क्षेत्रीय समितिले आयोजना गरेका कार्यक्रमहरूलाई सफल पार्न सबै प्रकारको सहयोग गर्नैपर्छ । यसका लागि संस्थाको संस्थागत निर्णय जरूरी हुन्छ ।भोलीका दिनमा आफ्नो उचाई घटाउने होईन अझै बढाउने काम गरोस् ,गल्कोटेहरू यहि चाहन्छन् ।
आफु जन्मेको भूगोल र मातृभूमी हरेक नागरिकलाई औधी नै मनपर्छ । यो कुरा नेपाली जनमन जो रोजीरोटीको शिलशिलामा संसारभरी छरिएर रहेका छन् ती सबैका लागि पनि सत्य हो । आज नेपाली नागरिकता त्यागेका गैर आवासिय नेपालीहरूका लागि पनि सत्य भैरहेको छ र त अंगिकृत नागरिकता भए पनि नेपाली नागरिकता चाहियो भनेर लिईरहेका छन् । यो पनि नेपाल प्रतिको माया हो ।
जापानको कुरा गर्ने हो भने अहिले सम्म एन आर एन ए जापानले जापानमा १४ वटा नेपाल फेस्टिवल सम्पन्न गरिसकेको छ । हरेक क्षेत्र क्षेत्रमा नेपाल फेस्टिवल आयोजना भैरहेका छन ।यसै शिलशिलामा तोचिगी केनको उचुनोमियामा पनि छिटै नै सम्पन्न हुँदैछ । कान्साईमा र सेन्दाईमा सम्पन्न भैसकेको छ भने गल्कोट समाज कान्साई क्षेत्रीय समितिले यहि जुन १४ र १५ मा प्रथम” नेपाल महोत्सव २०२५ कान्साई ,ओसाका “ आयोजना गरेको छ । यी सबै कार्यहरू नेपाल प्रतिको माया नै हो ।

भूमिका र सतर्कता :-
शब्दले नै स्पष्ट पार्छ कि “नेपाल महोत्सव “ भन्नासाथै प्रबासमा आफ्नो देश चिनाउनका लागि आयोजना गरिएको कार्यक्रम हो भनेर । यी र यस्ता कार्यक्रमहरू जो जसले गरेपनि देशकालागि राम्रै मान्नु पर्छ । तर कुनै पनि कार्यक्रमहरू निस्चित समय सिमा र दायरा फराकिलो बनाएर गरिएन भने भबिष्यमा यसको महत्व घटेर जान्छ र लोकप्रिय पनि बन्न सक्दैन ।यो बिषयमा भने हरेक आयोजक संस्थाहरू जिम्मेवार भएर सोच्नै पर्छ ।
अहिले पछिल्लो चरणमा यी र यस्ता कार्यक्रमहरू धेरै नै भइरहेको कुरा त पृष्ठभूमीमा उल्लेख भैसकेको छ । ।यस्ता कार्यक्रमहरू प्रभावकारी बनाउन ब्यापक तयारी र मोटो रकमको आबश्यकता पर्ने हुनाले पनि सबैले मिलेरै पुरा गरेमा बढि प्रभाबकारी हुने थियो ।यस्ता कुरा बिभिन्न संस्थाका तमाम ब्यक्तिहरूले सामुहिक छलफलबाट टुंगो लगाउन सके अझै धेरै प्रभावकारी हुन्छ भन्ने सबैको ठम्याई छ । जनतामा जन विश्वास र विश्वसनियताका लागि खुला बहसहरू चलाई भ्रमहरू निवारण पनि गर्नुपर्छ ।
त्यसकालागि सर्वपक्षिय बहस र पत्रकार सम्मेलनहरू पनि गरिदै जानु श्रेयष्कर हुन्छ । यी र यस्ता बिषयमा हरेक आयोजक संस्था सचेत रहनु पर्छ ।
यस्तै बिषयको सेरो फेरोमा रहेर यो आलेख तयार पारेको छु। बिश्वास छ यसले पक्कै पनि जनसाधारणमा अझै स्पष्ट पार्नेछ ।
फेस्टिवल या महोत्सव जे भए पनि नेपाल र नेपालीलाई जापान र विश्वसामु चिनाउने काममा भने सबैको एउटै मत छ ।यी कार्यक्रमहरूमा सबैको उत्तिकै सहयोग देखिन्छ ।मूल लक्ष्य र उद्धेश्य -“नेपाल हाउस र बहु साँस्कृतिक बहु उद्देश्यीय समाज घर “पनि करिब करिब मिल्दो जुल्दो देखिन्छ । यो बिषय अझै बहसको बिषय बनाईनु पर्छ र कार्य रूपमा जानेबेला सम्ममा समग्र नेपालीको कार्यक्रम हो भन्ने बनाएर जानु नै श्रेयष्कर हुनेछ । त्यसबारे सबैको ध्यान आकर्षित हुनुपर्छ ।यी र यस्ता कार्यक्रमहरूमा सबैलाई सहभागी बनाउन कोशिस गर्नुपर्छ र सबै सहयोगी पनि भैदिन सक्नुपर्छ ।

कार्यक्रमको महत्व :-
१- यो महोत्सवको महत्व हुनुमा यसको शब्द छनोट पनि हो । अहिलेका कलिला नानी बाबुहरूलाई “फेस्टिवल”को ठाउँमा “महोत्सव “ राख्दा नेपाली भाषाबारे अरू बुझ्ने कौतुहलता पनि जागृत भएर जानेछ । हाम्रो नेपाली पना देश बिदेशमा पनि शब्दले पनि चिनाउन सफल हुनेछ । सबैले महोत्सवको अर्थ बुझ्नेछन् । जापानमा नेपालीले मात्रै होईन जापानी जनताले पनि महोत्सव बारे ज्ञान हासिल गर्नेछन् । तसर्थ पनि नेपाली भाषाको जगेर्ना र प्रबर्धन गर्नमा पनि यो शब्द छनोटको ऐतिहासिक महत्व रहने छ ।
२- अर्को कुरा यो महोत्सवमा प्रयोग गरिएको नेपालको चुच्चे नक्शा । यसले पनि नेपालको भूगोलको आकृतिबारे दुनियालाई सुसूचित गराउने छ । संस्थाको लोगो मात्रै राखेर गरिने कार्यक्रम भन्दा यो अझै धेरै प्रभावकारी हुनेछ भन्नेमा सबैको बिश्वास अडेको छ ।
३- त्यस्तै पोष्टरमा प्रयोग भएका हरेक विम्बहरूले नेपाललाई प्रतिनिधित्व गर्दछ । यसमा त सबैको ध्यान गएको देखिन्छ । अझै यसमा थप परिमार्जन गर्दै जानुपर्छ ।हिमाल ,पहाड ,तराईको अन्योन्याश्रित सम्बन्ध देखाउँदा अझै पर्यटकमा घुम्न जाने उत्साह थपिन सक्छ ।
४- नेपाली दुताबासले पनि यसको समर्थन गर्दै सह आयोजक भएर सहयोग गर्नुले पनि यसलाई नेपाल सरकार र जापान सरकारका बिचमा पनि राम्रो सम्बन्ध स्थापित गर्न र नेपाल भ्रमणमा जापानी नागरिकहरूलाई निमन्त्रणा गर्न कोशेढुंगा साबित हुनेछ भन्नेमा आशा गर्न सकिन्छ ।
५- आयोजकले जापानमा रहेका सबै संघ संस्थाहरू तथा जातीय ,क्षेत्रीय र धार्मिक आस्था राख्ने सबै सबै प्रति उत्तिकै जिम्मेवार भएर समेट्ने प्रयत्न गरेको देखिन्छ । यो नै प्रवासीहरूका लागि सुखद पक्ष हो ।
६- बिभिन्न जात जाती ,भाषा भाषी , सम्प्रदायमा रहेका हरेकको सम्मान गर्दै नेपाली कला ,संस्कृति र संस्कारलाई जापानी समाज , हाम्रा बालबालिका र विश्वभरिबाट यो महोत्सव नियाल्ने सबैमा सन्देश प्रबाह गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरेको देखिन्छ ।
७- नेपाली मौलिक संस्कृति र भेषभुषा तथा नेपाली खानाको पनि प्रचार प्रसार हुनेछ । हरेकको ब्यापार ब्यबसायको पनि प्रचार प्रसार गर्न सकिने छ । यी र यस्ता सकारात्मक कामले गर्दा पनि यो कार्यक्रमको महत्व अझै बढ्ने छ भन्ने बिश्वास गर्न सकिन्छ ।
संस्थागत ईतिहास, जापानमा नेपाली संस्था र आजको अबस्था :-
२००६ ताका जापानमा मुस्किलले १० हजार नेपाली पनि नभएको अबस्थामा पनि गल्कोट समाजको स्थापना भएको समाचार सुन्दा सबैको मन खुशी भएको थियो । सायद यो नै जापानमा पहिलो प्रबासी क्षेत्रीय सामाजिक संस्था होला । यसको संस्थागत नेतृत्व हर्क थापाले गरेका थिए । यसको परिकल्पना गर्नेहरूमा हर्क थापा , बेलु थापा जस्ता दिग्गज ब्यक्तिहरू थिए । पछि यसले आफ्ना शाखाहरू बिस्तार गर्दै जानेक्रममा २०१२ मा कान्साईमा कान्साई क्षेत्रीय समिति बनायो । त्यतिखेर सम्म जापानमा अरू पनि संस्थाहरू खुल्न थालीसकेका थिए ।
पहिले देखि नै केहि प्रयत्नहरू भएता पनि २०१२ मा सिंगो जापानलाई समेट्ने गरी नेपालीहरूलाई एकितृत गर्ने हेतुले रूमाकान्त गौतम , तुफान के सी , भिम के सी , यमलाल सापकोटा ,यमलाल सापकोटा (लाला ) , गोपाल सापकोटा दिलीप कंडेल लगायतका कैयौं साथीहरूको पहलमा सयौं नेपालीहरूको उपस्थितिमा ; नेपाली जनताका प्रिय नेता तथा पूर्व उप प्रधानमन्त्री चित्र बहादुर के .सी .जापान आएको मौकामा जापान नेपाली एकता समाजको गठन भयो । यसले ओसाका र टोकियोमा राम्रै प्रभाव पार्यो ।नागोया , सेन्दाई र यामागुचीमा पनि केहि जनसमर्थन पायो ।किनकि यो एउटा भेगिय संगठन नभएर नेपालबाट कामको शिलशिलामा जापान आएका नेपालीहरूको सिंगो अबिभावकिय संस्था थियो ।
यो गैर नाफामूलक सामाजिक संस्था भए पनि राजनीतिक चेतपनि भएको संस्थाका रूपमा पनि यसले काम गर्नथाल्यो । यसले धेरै चेतनाका कुराहरू नेपाली समाजमा दिनथाल्यो । नेपालमा राष्ट्रियता , जनजिविका र लोकतन्त्र सुदृढीकरणको पक्षमा उठेका आन्दोलनमा नीतिगत समर्थन , विश्व भरिका श्रमजीवि जनताका न्यायिक आन्दोलनको समर्थन र जातीय ,क्षेत्रीय र धार्मिक सहिष्णुता नखलबलिने खालका कार्यक्रमहरूमा हरेक संघ संस्थाहरूसँग सहयोग र सहकार्य गरेर जानसक्ने लचिलो नीति अबलम्बन गर्यो ।
यस्ता कार्यक्रमले राजनीतिक महत्व पनि राख्न सक्छ भनेर एकता समाजले जो जसले यस्ता कार्यक्रम राखेपनि सक्दो सहयोग गर्दै आईरहेको छ ।
एकता समाजले प्रवासबाट पनि देश निर्माणको लागि बिधायिका संसदमा चुन्न र चुनिन सक्ने मताधिकारको ब्यबस्था सम्बन्धित देशहरूबाटै हुनुपर्छ भनेर आवाजहरू उठाउन थाल्यो । यो निर्णयमा सर्वोच्च अदालतले २०७५ सालमा नै परमादेश आदेश जारी गरिसकेको थियो । तथापी अहिले सम्म पनि लागू भएको छैन ।यो नारामा प्रवासी सँघ संस्थाहरूको मतैक्यता पनि छ ।
पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले जापान भ्रमणका बेला म छिटै यसको कार्यान्वयनमा जानेछु भन्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए । त्यस लगत्तै नेपालमा ; अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको नेतृत्वमा प्रवासबाट मताधिकारको प्रश्न सहितका मागपत्र पनि बुझाएको र छिटै पुरागर्ने प्रतिबद्धता पनि पाईएको कुरा बिभिन्न संचार माध्यमहरूमा आएका थिए । कुनै पनि सरकार सँधै अबिच्छिन्न उत्तराधिकार हो ।त्यसैले अहिलेको के पी वलीको सरकारले त्यो पुरा गरोस भन्ने सन्देश पनि पुर्याउन पनि हामीले नेपाल र नेपालीलाई चिनाउने कार्यक्रम रचनात्मक र सशक्त बनाएर लैजानुपर्छ ।
एकता समाजको सानो प्रयास तर दीर्घकालिन रूपमा ठूलो प्रभाव :-
नेपाली कला र संस्कृतिको जगेर्ना गर्न प्रवासबाट पनि सकिन्छ भनेर सर्ब प्रथम ओसाकामा नौमती बाजासमूह बनाउने , त्यसलाई चाहिने आधारभूत सबैकुरा ब्यबस्था गर्न एकता समाजको नेतृत्वले हर तरहले प्रयत्न गर्यो ।आफ्नो सांस्कृतिक बिभाग अन्तरगत राखेर ब्यबस्थापन पनि गर्यो ।यसले नेपाली मौलिक संस्कृतिको पहिचान दिने काम गर्नथाल्यो । समूहलाई सक्षम बनाउन छुट्टै समिति बनाएर त्यसको ब्यबस्था पनि गरिदियो । कतै उसलाई चाहिने पूर्वाधार पूरा गर्न नसकेमा संस्थाले जिम्मेवारी लिने गरी ब्यबस्थापन गर्यो ।एकता समाजको त्यो जगमा तयार भएको बाजा समूह नै आज कान्साईमा सशक्त बाजासमूह बनेको छ ।यो महोत्सवमा एकता समाजको जगमा स्थापना भएका बाजा समूहले पक्कै पनि नेपाली मौलिक पञ्चेबाजाको प्रस्तुती दिनेछन् । यो सबैभन्दा सुखद पक्ष हो ।

किन आबश्यक रह्यो नेपाल महोत्सब कान्साईमा ?:-
भर्खरै मात्र एन आर एन ए कान्साईले नेपाल फेस्टिवल सम्पन्न गरेको छ अहिले नै किन चाहियो त नेपाल महोत्सब भन्ने लाग्नु स्वभाबिक हो ।यो कार्यक्रम अहिले नै गर्नुको मुख्य कारण उसको एक बर्ष पहिलेको निर्णय कार्यान्वयन हो ।जुन कुरा यसप्रकार छ -“..मिति-२०२४-७-२ गते मंगलवार बसेको गल्कोट समाज कान्साई जापानको कार्य समितिको प्रथम बैठकले “ आफ्ना एजेण्डाको सातौं नम्बरको प्रस्तावमा निम्न कुरा लेखेको छ ।“७-आगामी नेपाली नयाँ बर्ष २०८२ को अबशर पारेर ऐतिहासिक प्रथम नेपाल फेष्टिबल गर्ने सम्बन्धमा “भन्ने कुराबाट के बुझ्नु जरूरी देखिन्छ भने जे हुन्छ राम्रैका लागि हुन्छ भनेर बुझ्नुपर्छ र राम्रोका लागि सबैले रचनात्मक सहयोग गर्नै पर्छ ।
यी र यस्ता कार्यक्रम जो जसले आयोजना गरे पनि सानो खर्चले गर्न सकिने कार्यक्रम होईनन् । त्यसका लागि सबै संघ संस्था , ब्यक्ति ब्यक्तित्वको हातेमालोको आबश्यकता पर्दछ ।
यो कार्यक्रमको अनुमानित बजेट :-
कुनैपनि कार्यक्रम सम्पन्न गर्न त्यसको अनुमानित बजेट तर्जुमा गर्नुपर्छ । त्यसका लागि त्यसको श्रोत र श्रोत ब्यबस्थापनको आबश्यकता पर्दछ ।
अब रह्यो श्रोतको कुरा , त्यसका लागि आयोजक संस्था ,केन्द्रिय समिति ,कार्यक्रम प्रायोजक ,सह प्रायोजक , ब्यबसाय प्रबर्धन , संस्थाहरूको सामुहिक उत्तरदायित्व भाव जगाउने कार्यक्रम , बिज्ञापन र स्टल ब्यबस्थापन , कला र संस्कृतिसंग सम्बन्धित कार्यक्रमहरू ,मनकारी सहयोगदाताहरू आदि ।
संस्थाका अध्यक्ष नर बहादुर थापासंगको कुराकानीबाट के बुझियो भने यो महोत्सवमा २ करोड जापानी यन भन्दा बढि खर्च हुने अनुमान गरिएको रहेछ । त्यसका लागि गल्कोटबासी दाजु भाई दिदाबहिनीहरूसंग र सम्पूर्ण मनकारी जनसमुदायमा सहयोगको अपिल गर्नुको बिकल्प छैन ।
नेपाल महोत्सबको उद्धेश्य : –
नेपाली कला र संस्कृतिको सम्बर्धन ,संरक्षण र प्रबर्धन गर्न ,नेपाली कला र संस्कृतिको आदान प्रदान गर्न जापानी समाजमा यसको परिचय दिलाउन , नेपाली भाषा ,भेषभुषा र परम्परालाई जापानमा र हाम्रा नयाँ पिढिमा परिचय गराउन , पुरातात्विक महत्वका कुराहरूको चिनारी दिलाउन , नेपाल र नेपालीको आफ्नोपना के हो भन्ने जानाकारी दिन । यी र यस्ता बिषयको आकर्षण दिलाएर जापानी समुदाय र विश्व समुदायलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनका लागि ।साथै जापानमा नेपाली खानाको प्रचार प्रसार र प्रबर्धन गर्नका लागि पनि यो कार्यक्रमको ठूलो महत्व छ ।यसका साथै आफ्ना ब्यबसायहरूको प्रचार प्रसार गर्न पनि यसको महत्वपूर्ण भूमिका रहन्छ ।
लज्जाबोध र चुनौती :-
पक्कै पनि जापान जस्तो देश जहाँ समयको धेरै नै महत्व गरिन्छ । सेकेण्ड सेकेण्डको हिसाव गरिन्छ , त्यस्तो देशमा हामीले कार्यक्रमको आयोजना गर्नु भनेको नै चुनौतीपूर्ण बिषय हो । जुन देशमा “भैगो तनी “ भन्ने शब्द नै बिक्दैन त्यो देशमा कुनै कारणले उनीहरूले तोकेको मापडण्ड पुरा गर्न सकिएन भने , त्यसले आगामी दिनमा विश्वसनियता प्राप्त गर्न सकिदैन । त्यसैले त्यो कुराप्रति ध्यान दिनुपर्छ । अहिले तत्कालको नेपाल हाउसको एग्रीमेन्ट अनुरूप “ओसाका एक्सपो २०२५” ले सबै नेपालीको शिर निहुरीरहेको छ । यसले देश र देशबासीको नै शान गिरेको महसुस भएको छ । फेरी त्यसैमा नून चुक छर्किने काम नहोस् भनेर सबै चनाखो बन्नै पर्छ ।

दीर्घकालीन महत्व के हो ? :-
“बहु साँस्कृतिक बहु उद्देश्यीय समाज घर “ निर्माण गर्ने अभिष्ठका साथ आयोजना गरिएको यो महोत्सव दीर्घकालीन महत्वका हिसाबले पनि उपयुक्त देखिन्छ । तसर्थ यसलाई सफल पार्न सम्पूर्ण कान्साईबासी नेपाली समुदाय नै बढि भन्दा बढि सक्रिय हुनुपर्छ र यसलाई सफल पार्नुपर्छ ।यसलाई सबैले चुनौतीका रूपमा लिनुपर्छ र भबिष्यको अबसरका रूपमा स्थापित गर्नुपर्छ । तसर्थ हरेक संघ संस्था ,ब्यक्ति ,ब्यक्तित्वहरूले यो कामलाई आफ्नै सम्झेर सहयोग गरौं ।
यो कार्यक्रम अन्तराष्ट्रिय महत्व राख्ने बिषय भएकोले पनि सबैले सहयोग गर्नैपर्छ ।
संस्थाका अध्यक्षसँगको कुराकानीबाट यो कुरा पनि थाहा लाग्यो कि -जापानका लागि कुटनीतिक नियोग प्रमुख महामहिम राजदुत डा . दुर्गा बहादुर सुवेदीले पनि मुक्त कण्ठले समर्थन गर्नुभएको छ ।यो कुराले पनि हाम्रो कार्यक्रमको उचाई बढेको छ भन्नु भयो।थापाले ; यसरी खुलेर समर्थन गर्ने महामहिमलाई खुलेरै धन्यबाद पनि दिनुभयो ।
कार्यक्रमको बस्तुगत जानाकारी :-
जनहित न्युज सम्बाददाता तथा एन आर एन ए जापानका प्रवक्ता खगराज गौतमले आफ्नो फेशबुक वालमा लेखिरहनु भएको छ –
“गल्कोट समाज कान्साई जापानले आगामी जुन महिनाको १४ र १५ गतेका दिन कान्साईबासी तथा जापान बासी नेपाली समुदायको मर्म र भावनालाई समेट्दै मातृभूमी नेपालको भेष, भुषा, कला, साहित्य संस्कार संस्कृति,सभ्यता, भौगोलिक परिचय,ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्वलाई जापानी समुदाय तथा अन्तराष्ट्रिय जगतमा चिनाऊँदै, पर्यटकलाई नेपाल भ्रमणको निमन्त्रणा दिंदै,नेपालको पर्यटन बिकासलाई टेवा पुर्याउने मुख्य लक्ष्यका साथ, गल्कोट समाज कान्साईले,ऐतिहासिक दुईदिने नेपाल महोत्सव २०२५ आयोजना गर्ने ऐतिहासिक निर्णय, गल्कोट समाज कान्साई तथा कान्साईवासी नेपाली समुदायलाई समेटेर ऐतिहासिक निर्णय गरेको छ ! कान्साईमा क्रियाशील बिभिन्न जातीय,भेगिय, क्षेत्रिय संघ संस्था तथा अन्य खेल जगत,महिला, बिधार्थी पत्रकार,बुद्धिजीवी तथा ब्यवसायीहरुलाई पत्रचार गरि सबै निकायहरुलाई समेट्दै थप पत्रचार गर्दै अघिबढ्ने योजना सहित सिंगो नेपाली समुदायलाई सामाजिक, सांस्कृतिक,आर्थिक नैतिक तथा भौतिक सहयोगको हार्दिक अपेक्षा गरिएको छ ।”
त्यस्तै संस्थाका अध्यक्ष नर बहादुर थापाले आफ्नो फेशबुक वालमा गल्कोट समाज कान्साईको पोष्टलाई यसरी शेयर गर्नुभएको छ –
“नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल महोत्सव मार्फत नेपालमा पर्यटन प्रवर्द्धन” भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास जापानको सहकार्यमा गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा बिभिन्न संघ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले नेपालबाट ख्याति प्राप्त कलाकारहरूको साथमा यही मिति २०२५ जुन १४ र १५ तारिखका दिन आयोजना हुन लागेको नेपालीहरु सबैको गौरवको कार्यक्रम “नेपाल महोत्सव २०२५”मा सहभागी बनौ भब्यताका साथ सफल पारौं
नेपाल महोत्सव २०२५ओसाका कान्साई
कार्यक्रमको आत्मगत पक्ष :-
एउटा उज्यालो पक्ष के हो भने पहिले फरक संस्थामा काम गर्ने साथीहरू गल्कोट समाजको सदस्य हुँदा पनि हेय दृष्टीले ब्यबहार गरेर अमिलो मन बनाएर फर्किने साथीहरूलाई पनि अहिलेको नर बहादुर थापाको नेतृत्वले सम्बोधन गर्दै समेटेर लैजान खोजेको देखिन्छ । जसका कारण कान्साईमा रहने सबै संघ संस्थाहरूले पनि हार्दिकतापूर्वक यो नेपाल महोत्सवलाई सफल पार्ने महान अभियानमा दत्त चित्तले लागिरहेका छन् । यो प्रयास नै स्वागतयोग्य बिशाल हृदयको नमूना हो । त्यसैले पनि यो कार्यक्रम पूर्ण रूपमा सफल हुनेछ भन्ने बिश्वास गर्न सकिन्छ ।
सुझाव : –
१- आयोजक संस्था गल्कोट समाज भएकोले गल्कोटको चिनारी पनि आबश्यक हुन्छ ।त्यसका लागि गल्कोटको प्राकृतिक , साँस्कृतिक र सामाजिक जन जीवन झल्किने बिषयबस्तुलाई पनि समेट्दै लैजान सक्यो भने अझै राम्रो हुनेथियो ।
गल्कोटमा पर्यटन ब्यबसाय फस्टाउन सक्ने हो भने गल्कोटको अर्थतन्त्र पनि अझै बलियो बन्नेछ । यसबारे पनि आगामी दिनमा ध्यान जाओस् ।
२ – “नेपाल हाउस “ भनेपनि “बहु सांस्कृतिक बहु उद्धेश्यीय समाज घर “ भने पनि अन्तमा एउटै हुनुपर्छ । शब्द चयनमा नेपाली शब्दलाई प्राथमिकतामा राखे पुग्छ ।
३- जापानमा रहेका सबै संघसंस्थाहरूलाई पनि त्यो अभियानमा जोड्नुपर्छ । सबैलाई यो कार्य मेरो आफ्नै हो भनी गर्व गर्नसक्ने बनाईनु पर्छ
। सबै संघ सस्थाको पहिचान खुल्नेगरी कार्यक्रम गर्न दिनुपर्छ । पहिचान मेटेर कसैले कार्यक्रम गर्न सक्दैन भन्ने कुरा बुझ्नुपर्छ ।
(लेखक जापान नेपाली एकता समाज, केन्द्रीय समितिका सदस्य हुन)