
१४ वर्ष अघि आफ्नो र परिवारको जीवन सुन्दर बनाउने स्वर्णिम कल्पनासहित जापानमा रोजगारीको शिलाशिलामा छिरेका ४३ वर्षीय पदम चोखालको त्यो कल्पना पूरा नहुँदै मंगलबार परदेशी भूमिमा प्राण गयो ।
नेपाली हिन्दू सस्कार अनुसार जापानले तोकेका मापदण्ड पूरा गरि शनिबार उनको शरीरलाई परदेशी भूमिमा नै अन्तिम सस्कार गरियो । टोकियोको ओटा कु तोकाइमा श्रद्धान्जलीका लागि उपस्थित भएका नेपाली दाजुभाइ दिदीबहिनीका आँखामा पदमकी श्रीमति लक्ष्मीको चित्कारले मन नै छेड्ने गरि छोएपछि आँशु छचल्किए ।
नेपालमा रहेकी एक मात्र छोरीलाई पनि मृत्यु बरण गर्ने अवस्था अघि मायाले सुम्सुमाउन नपाएका पदमको हृदयघातका कारण मृत्यु भएको थियो । ती नाबालिका छोरीसहितको परिवारलाई सुखमय जीवन जिउने कल्पना र आशाका साथमा श्रीमतीसंगै जापानमा कुक पेशामा कार्यरत उनले मृत्यु हुने दिनसम्म पनि दिनभर आफ्नो नियमित काम गरेर बेलुका श्रीमतीसंगै खाना खाएर सुतेका उनी कहिलै नउठ्ने गरि सबैलाई रुवाउदै चीर निद्रामा लागे ।
गलकोट नगरपालिका वार्ड नम्बर ७ खोलापारीमा जन्मेर हुर्केका उनी आफू सानैमा आमाको माया कस्तो हुन्छ भन्ने कुराबाट बन्चित रहेका हुदाहुँदै दैवको नियति श्रीमती र नावालिका छोरीलाई श्रीमान र बुवाको माया सहितको भरोसा दिनबाट अल्पायुमैं चुडाएर लगिदिएको भन्दै अन्तिम सस्कारमा उपस्थितहरूको भक्कानो छुटेको थियो ।
सामाजिक कार्यमा पनि आफू सक्दो सक्रिय हुँदै आएका पदमको अन्तिम सस्कार कार्यक्रममा गलकोट समाज जापान र घुम्टे युवा परिवार जापानले उनको योगदानको बारेमा चर्चा गरेका थिए ।
जापानमा पछिल्लो दिनमा मृत्युका घटनाहरू बढिरहेकोले जापानमा क्रियाशील संघ संस्था र नेपाली राजदूतावासले यस तर्फ ध्यान दिइ सचेतनात्मक कार्यक्रम गरिनुपर्ने पर्ने देखिन्छ ।
स्वर्गीय चोखालको अन्त्येष्ठीका लागि आवश्यक व्यवस्थापनका सहजीकरण गरेका एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले स्वर्गीय चोखालप्रति श्रद्दान्जली र परिवारजनप्रति समावेदना प्रकट गर्दै जापानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी सम्पूर्णमा आफनो नियमित स्वाथ्य जाँच गराउन, खानपानमा विषेश ध्यान दिएर स्वस्थ भै आफ्ना नियमित कार्यमा क्रियाशील रहनका लागि अनुरोध गरेका छन ।
स्वर्गीय पदमलाई श्रद्दान्जली अर्पण गर्नका लागि बागलुङ गलकोट लगायत नेपाली समुदायका १३२ भन्दा बढिको उपस्थिति रहेको थियो । जापानमा रहेकी उनकी श्रीमती र नजिकका परिवारका सदस्यसहित आइतबार नेपाल फर्कन लागेको बताइएको छ ।





