
शिक्षा मन्त्रालयले आगामी १ जेठदेखि शनिबार र आइतबार दुई दिन शिक्षण संस्थालाई विदा दिने भएको छ । तर यसका लागि भने विभिन्न सर्तहरू राखेको छ ।
शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन हुने भएको छ । यसका साथै हिउँदे, वर्खे, स्थानीय विदा भने कटौती गरी वर्षमा अधिकतम ३० दिन मात्रै विदा दिन सकिने गरी सहमति दिएको छ ।
यसबारेको निर्णय भने विद्यालयको हकमा सम्वन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीइभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले विदाको व्यवस्थापन गर्ने भएको हो ।
केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रको पूर्णपाठ
विषयः सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा ।
श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै)
प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को च. नं. ३८३ मिति २०७९।०१।२७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७१।०१।१३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा बिदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्न समेत देहाय बमोजिम हुने गरी गर्न गराउन मिति २०७९।०१।२७(माननीय मन्त्रीस्तर) को निर्णय अनुसार लेखी आएकाले देहाय अनुसार गर्नका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्नु हुन निर्देशानुसार अनुरोध छ ।
तपसिल
१. विद्यालयहरूले साविक बमोजिम नै बिहान १०ः००बजे देखि अपरान्ह ४ः०० बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने ।
२. शुक्रबार दिनको १ः०० बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमाजस्तै अपरान्ह ४ः०० बजेसम्म पठनपाठन सञ्चालन गर्ने गराउने ।
३. राष्ट्रिय पाठ्यक्रम प्रारुप– २०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठ्यघन्टा र कार्यघन्टामा नघट्ने गरि पठनपाठनका कार्यहरू सञ्चालन गर्नका लागि आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य बिदाबाट कटाई पूर्ति गर्ने । यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने ।
४. विद्यालयहरुले यसै अनुसार बार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने ।
बाधार्थ/कार्यार्थ श्री स्थानीय तह (सबै) श्री विद्यालयहरु (सबै)
रामचन्द्र शर्मा
निर्देशक




