टोकियोमा रोजिना मल्लको ‘फेशन शो’ हुँदै

-


     जनहित न्युज    
     मंसिर २५ गते २०७९


टोकियो – फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल ‘फेशन शो’ कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरकारुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा ‘फेशन शो’ गर्न लागेकी हुन् । टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् ।
भाषा विद्यार्थीकारुपमा सन् २०१४ मा जापान आएकी मल्ल २ वर्षको भाषा कोर्स पश्चात फेशन डिजाइनमा ४ वर्षे कोर्स पूरा गरी विगत २ वर्षदेखि एउटा जापानी कम्पनीमा फेशन डिजाइनरकारुपमा कार्यरत छिन् ।

आफुभित्र अन्तर्निहित कला, सीप र मनोबललाई प्रतिस्पर्धात्मक फेशन बजारमा उजागर गर्न यसप्रकारका ‘फेशन शो’ कार्यक्रमहरु सहायकसिद्ध हुने भएकोले विश्वब्यापी प्रचलन अनुसार आफुले उक्त कार्यक्रमको आयोजना गरेको उनले समुद्रपारिलाई बताईन् ।

उनका अनुसार आर्थिकरुपमा यसप्रकारको कार्यक्रम निकै खर्चिलो मानिन्छ । नेपालीहरुद्वारा यसअघि जापानमा यसप्रकारको कार्यक्रम त्यति भएको पाईदैन ।

बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक जस्ता विविधतायुक्त विशेषताले भरिएको नेपालको मौलिक पोशाक एवं पहिरनलाई जापानको फेशन बजारमा प्रवर्धन गर्दै नेपाललाई चिनाउने र देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले उक्त ‘फेशन शो’ कार्यक्रमको आयोजना गरिएको मल्ल बताउँछिन् । भविष्यमा अन्य मुलुकहरुमा पनि यसप्रकारको ‘फेशन शो’ कार्यक्रम आयोजना गर्ने आफ्नो योजना रहेको उनले सुनाईन् ।

‘फेशन डिजाइन आफैमा संभावना नै संभावना भएको पेशा मानिन्छ’ – मल्ल भन्छिन् – ‘नेपाली फेशन डिजाइनरले डिजाइन गरेको ड्रेस अहिले बलिउडदेखि अमेरिकाकी उपराष्ट्रपति ह्यारिससम्म र अमेरीकी पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नीदेखि अरु थुप्रै नाम चलेका मल्टी बिलिनियरहरुले लगाउने गरेका छन् । जसका माध्यमबाट पनि नेपाललाई संसारभरि चिनाउने काम मनग्गे भएको छ ।’

बिश्वको प्रतिस्पर्धात्मक फेशन बजारमा आफुलाई खरोरुपमा उतार्न र स्थापित हुनका लागि आफ्ना सीप, सिर्जना र प्रोफाइल सार्बजनिकरण समारोहकारुपमा ‘फेशन शो’ कार्यक्रमलाई लिने गरिन्छ । सोहीअनुरुप मल्लले बिश्वकै अति महंगो सहर मानिने टोकियोमा आफ्नो प्रोफेशनको ‘डेब्यु’ गर्दैछिन् । देशकै कला, सँस्कृति र पहिचानसंग जोडिएको उक्त कार्यक्रममा उपस्थित भई हौसला बढाईदिन उनले जापानबासी नेपालीहरुमा अनुरोध गरेकी छिन् । कार्यक्रम उक्त दिनको सांझ १७:३० बजेबाट २०:०० बजेसम्म हुने बताईएको छ । ‘फेशन शो’ लगत्तै डिनर कार्यक्रम पनि रहेको मल्ल बताउंछिन् ।

थुप्रै चुनौतीहरुको सामना गर्दै ठूलो आँट र साहस बटुलेर यति खर्चिलो कार्यक्रम आयोजना गरिएको बताउँदै मल्लले उक्त कार्यक्रम सफल पार्न टोकियोस्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम लगायत जापानका अन्य संघसंस्थाहरुको साथ, सहयोग र सहकार्य रहेको उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?