
घुम्टे युवा परिवार जापानले स्थानीय एक विद्यालयको लागि एक वर्षसम्म शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ७ टोकरीमा रहेको देउराली आधारभूत विद्यालयको लागि एक शिक्षकको एक वर्षसम्मको तलब व्यवस्थापनमा आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।
“वैदेशिक रोजगारी, शहरीकरणप्रतिको आशक्ति लगायतका कारणले मानिसको बढदो बसाईसराईले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या दिनहुँ घटदो क्रममा रहेको र भएका विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको अभाव रहेको स्थानीयहरूको माग बमोजिम सहयोग गरिएको हो।” अध्यक्ष थापाले बताए ।
२०४६ सालमा स्थापना भएको उक्त विद्यालय हालसम्मपनि सरकारी स्रोतबाट प्रयाप्त शिक्षकको व्यवस्था नहुँदा निजी तथा स्थानीय स्रोतबाट शिक्षक व्यवस्थापन गर्दै आएको थियो र पछिल्लो समयमा स्थानीय स्रोतका शिक्षकलाई तलब व्यवस्थापन गर्न गार्हो भए पछि १ वर्षका लागि १ जना शिक्षकको व्यवस्थापन गर्ने जिम्मा घुम्टे युवा परिवार जापानले लिएको संस्थाका अध्यक्ष थापाले बताए।
विद्यालयमा स्थानीय श्रोतमा कार्यरत शिक्षकलाई तलब व्यवस्थापन गर्न समस्या भईरहेका बेला घुम्टे युवा परिवार जापानले परोपकारी काम गरेर समाजमा उदाहरणीय बनेको विद्यालयका प्रधानध्यापक केहरसिंह थापाले बताए ।
संस्थाको दुई वर्षीय योजना अनुसार स्वास्थ्य, खेलकुद र मानवीय सेवाका क्षेत्रमा काम गरि रहेको छ क्लबका सचिव तुलबिर थापाले भने- यस पटक शिक्षा क्षेत्रमा विपन्न परिवारका विद्यार्थीले अध्ययन गरिरहेको उक्त विद्यालयमा तलब बापतको रकम सहयोग गरेको हो ।
क्लबले गरेको आर्थिक सहयोग बमोजिम शिक्षकको विज्ञापन गरि सम्झौता बमोजिम गरि शिक्षक नियुक्त गरि अध्यापनमा समेत लगाईएको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चोखालले बताए ।
कुनै समय १ सय २५ जना विद्यार्थी सम्मले अध्ययन गर्ने उक्त विद्यालयमा अहिले २२ जना विद्यार्थी अध्ययनरत छन् ।



