कांग्रेसको मतदातासँग अपिल-‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ रुख़मा मतदान गर्नुहोस ’

-


     जनहित न्युज    
     वैशाख २७ गते २०७९


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । 

मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् । 

अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ ।  

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरेका हुन् ।

उनले कांग्रेसलाई आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी रूपमा पनि चित्रण गरे । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा लिएर निर्वाचन अभियानमा रहेको कांग्रेस उम्मेदवारहरूलाई ‘रूख’ चिह्नमा मतदान गर्न प्रधानमन्त्रीसमेत रहेका देउवाको आग्रह छ ।

काँग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा काँग्रेसको निर्णायक भूमिका रहँदै आएको छ ।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा काँग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ’, उनले अपिल गरेका छन् ।

अपिलमा भनिएको छ ‘काँग्रेस एउटा राष्ट्रिय सङ्कल्प, स्पष्ट दूर दृष्टि, इमानदार अठोट, सूचना ज्ञान र प्रविधिका जानकार जनशक्ति एवं राजनीतिक तथा शासकीय स्थिरताका लागि प्रतिबद्ध छ ।’ कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प काँग्रेसले लिएको सभापति देउवाले उल्लेख गरेका छन् ।

‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ’

सभापति देउवाले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि काँग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड–१९ महामारीको त्रासदीमा रहेका आम नागरिकलाई २०७८ चैतभित्रै खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा भएको सो अपिलमा उल्लेख गरेका छन् ।

उनले अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजनाबाट यही वैशाखभित्र पानी वितरण गरी काठमाडौँ नगरवासीको आकाङ्क्षा पूरा गर्न सरकार सफल भएको बताए ।

‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित काँग्रेसले गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको छ । संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन्’, सभापति देउवाद्वारा जारी अपिलमा उल्लेख छ ।

स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै सङ्घ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सृजनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्नेतर्फ काँग्रेस क्रियाशील हुने उनले जनाएका छन् ।

सभापति देउवाले स्थानीय तहलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिबद्धता पूरा गर्न काँग्रेसले कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण र कानुन बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रस्ट पारेका छन् ।

उनले अपिलमा भनेका छन्, ‘काँग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । अरु कुरा गर्छन्, हामी काम गर्छौँ । सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनु हुन अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?