यो समाजलाई अनियन्त्रित र छाडा लिंगहरु बाट जोगाऊँ !

-


     हेमन्त गिरी    
     जेठ २७ गते २०७८


हामी छोरालाई खेलौनाको रूपमा बन्दूक किनिदिन्छौं, छोरीलाई पुतली (डल) ! त्यही बिन्दु बाट नै विकसित हुन्छ- दमनको मनोविज्ञान !

पहिले एकजाना युवतीलाई रूपमा राम्री भएकै कारण भाइरल बनाइयो । कारण: उनले डोकोमा तरकारी बोकिन । रूपको बजार चलाएर महिला माथि विभिन्न शोषण र दमन गर्ने यस्तो शृंखला आजको हैन । विडम्बना, अधिकांश महिलाहरुले आफू माथि शोषण भइरहेको पत्तो नै पाउँदनन ! ‘डजन्ट म्याटर’ भन्न सम्म पछि पर्दैनन !

हुन त यो अभिव्यक्ति स्वतन्त्रताको युग हो । व्यक्ति आफ्ना रुची र रोजाइहरुमा स्वतन्त्र छ ! तर नेपाली समाजमा चेतनाको स्तर र स्वतन्त्रताका आयामको तालमेल कत्ती पनि नमिलिरहेको देख्छु म चाहिं !
इण्टरनेट आयो । यूट्यूब आयो, टिकटक आयो । संगसंगै छालाको विज्ञापन र व्यापारमा अल्झिएको मनोविज्ञान झन झन विकृत भएर गयो । पहिले ‘कथाको माग’ भनेर चलचित्रहरुमा नायिकाहरुलाई नङग्याइन्थ्यो, अचेल युवतीहरु ‘भाइरल’ बन्ने भोकमा स्वेच्छाले आफ्नो घरमा आफ्नो रहरमा नाङगिइरहेछन !

नाङगिनुमा दोष छैन, यो व्यक्तिगत स्वतन्त्रताको कुरो भयो । तर यस्तो जंगली मानसिकताको समाजमा नाङगिनु, जहाँ यौन, प्रजनन र प्रेम अनि सम्बन्धको बारेमा शिक्षकले खुलेर पढाउन सक्दैनन, आमा बाबुले विधि पुर्याएर सन्तानलाई सिकाउन सक्दैनन, राज्यका नीति र नियमहरु विभेदकारी तथा दुर्व्यवहारलाई प्रश्रय दिने खालका छन, त्यस्तो समाजमा ‘देह प्रदर्शन’ आफैमा अभिशाप बनेर आएका घटनाहरु हामीले देखिरहेका छौं ।

हामी छोरालाई खेलौनाको रूपमा बन्दूक किनिदिन्छौं, छोरीलाई पुतली (डल) ! त्यही बिन्दु बाट नै विकसित हुन्छ- दमनको मनोविज्ञान !

यहाँ प्रश्न उठाउन सकिन्छ- दुर्व्यवहार र बलात्कार गर्ने पुरुषले, अनि दोष चाहिं महिलाका पहिरन र अभिव्यक्तिहरुलाई ? बिल्कुल, यो प्रश्न उठाउन सकिन्छ, त्यस्तो समाजमा जुन समाज ‘मानव समाज’ बनेको छ ! हामी बसेको समाज त एउटा ‘जंगल’ हो ! प्रत्येक चोक र गल्लीहरुमा लिंग बोकेका भोका हुँडारहरु तपाईंको बाटो कुरिरहेका छन, जिब्रो पड्काइरहेका छन, गन्दा इशारा गरिरहेका छन, भिडभाडको मौका पारी तपाईंको शरीरमा छोइरहेका छन ! स्यालहरु स्कूलमा छन, कलेजमा छन, कार्यालयमा छन, इभन मन्दिरमा पनि छन ! त्यस्तो जंगली समाजमा आफू जोगिने उपाय गर्नु नै श्रेयष्कर हुन्छ कि ?!

महिलालाई ‘तँ कमजोर होस्’ भन्ने मनोविज्ञान सुरुवातमै प्रदान गर्ने उसकै बाबुआमा र घरपरिवारले हो । त्यसैले सुरुवातमै मैले डल र बन्दूकको प्रसंग उठाएको हुँ । यो कमजोरीको मनोविज्ञान बिस्तारै समाजमा फैलाइन्छ र विभिन्न किसिमले लुटिन्छ !

महिलाका संवेदनशील भावना र अंगहरुका ट्रोल र जोक बनाएर सामाजिक संजालमा प्रस्तुत गर्ने सहरी र पढेलेखेकाहरु प्रशस्त छन ! उनीहरु र राउटे युवती माथि दुर्व्यवहार गर्ने युवकहरुमा म कुनै अन्तर देख्दिन !

हरेक अपराधको एउटा मुहान हुन्छ र त्यो मुहान हालका मीडिया हुन भन्ने मेरो सीधा आरोप छ । यूट्यूब,टिकटक,फेसबुक तथा ट्विटरमा प्रस्तुत गर्ने अधिकांश सामग्रीहरु हेर्नु भयो भने तपाईंलाई पनि लाग्नेछ- कमजोर र नकारात्मक चेतना भएको समाजमा अपराधलाई मलजल पुर्याउने काम दुईचार पैसाको लोभमा नियमन बिना संचालन भइरहेका यिनै मीडियाहरुले गरेका छन !

सम्झिनुहुन्छ- आफ्नो दुनियाँमा रमाइरहेका ती राउटे युवतीहरुलाई मीडियामा ल्याउने को हुन ? उनीहरुलाई मदिराको बारे प्रश्नहरु सोधेर अपराधीहरुको मगजमा अपराधको बिऊ रोप्नेहरु यही सभ्य भनाउँदो समाजका सभ्य भनिएका मिडिया हैनन ?! उनीहरुलाई के थाहा थियो र आम जीवन र उनीहरुले यापन गरिरहेको जीवन बीचको भिन्नता ? उनीहरुलाई ज्ञान नै नभएको तर आपराधिक मस्तिष्कहरु लाई योजना बुन्न सघाउ पुर्याउने सवालहरु सोधेर उनीहरुलाई अपराधको जगतमा धकेलेको यिनै मीडियाहरुले हैन ?

र तपाईं, जो भाइरल हुने लोभमा धेरै सम्भावित दुर्घटनाहरु बिर्सिरहनुभएको छ, तपाईंहरु पनि अपराधीहरुको नजरमा हुनुहुन्छ । ढीलोचाँडो मात्र हो । सुन्दा तीतो र रुखो लाग्ला, सत्य यही हो ! यौन मनोविज्ञान र सम्बन्धित क्रियाकलापको लागि हाम्रो समाज अझै पनि एउटा जंगल हो र हामीहरु पशु हौं ! पशु पनि हैनौं, पशुहरुले पनि प्रजननको लागि समय पर्खिन्छन र मौसम आए पछि संकेत देखाउँछन । हामी त त्यो भन्दा पनि बत्तर हौं !

यो समाजलाई अनियन्त्रित र छाडा लिंगहरु बाट जोगाऊँ ! 🥲😷

शुभदिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?