एक वर्षपछि कांग्रेसको मञ्चमा ओली-प्रचण्ड संवाद, देउवा साक्षी

-


     जनहित न्युज    
     मंसिर २४ गते २०७८


एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए।

तत्कालीन नेकपा रहँदा माधव नेपाल समेतको साथ लिएर प्रचण्डले २०७७ वैशाखदेखि नै ओलीसँग शक्ति संघर्ष गरिरहेका थिए। यो शक्ति संघर्ष २०७७ असोजमा प्रचण्डले ओलीविरुद्ध पार्टीमा दस्तावेज दर्ता गरेसँगै चुलिएको थियो। 

प्रचण्डकै भाषामा उक्त दस्तावेज ओलीको हेडक्वार्टरमा एउटा बमबार्ड थियो। आफूलाई किनारा लगाइ छाड्ने प्रचण्डको योजना विफल बनाउन पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएका थिए।

त्यसपछि फागुन ११ मा प्रतिनिधिसभा विघटन रद्द भयो। तर फागुन २३ मा तत्कालीन नेकपा खारेज भएसँगै ओली र प्रचण्डको बाटो पनि अलग अलग भयो। तर त्यसअघि नै प्रचण्ड र माधव नेपालले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकालिसकेका थिए।

यद्यपि ओलीले पनि उनीहरुमाथि कारबाही चलाए। तर दुवै पक्षको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन। त्यहीबीचमा फागुन २३ गते नेकपा खारेजीमा पर्दा ओली एमालेतिर र प्रचण्ड माओवादीतिर फर्किए। 

यस्तोमा बिलखबन्दमा परेका माधव नेपालले पनि ओलीसँग शक्ति संघर्ष चर्काएर नयाँ पार्टी खोलेको पनि चार महिना भइसकेको छ।

यी तीन नेताबीच पानी बाराबारको अवस्था रहँदा एउटै मञ्चमा भेटाइदिने काम नेपाली कांग्रेसले गर्यो। ओली-प्रचण्डबीच २०७७ पुस ५ यता भेट भएको थिएन। तर ओलीले त्यसयता सीता दाहाल बिरामी हुँदा र अर्को पटक संवादका लागि फोन गरेका थिए। ओलीले संवादका लागि गरेको फोनलाई प्रचण्डले नकारिदिए। 

यता माधव नेपालसँग पनि ओलीको असार २३ यता भेट भएको थिएन। एमालेलाई एक बनाउन यी दुई नेताबीच होटल मेरियटमा अन्तिम पटक भेट भएको थियो। त्यसपछि असार २७ मा भएको १० बुँदेलाई पनि अस्वीकार गरेका नेपालले नयाँ यात्रा थाले। 

ओली-प्रचण्डबीच कांग्रेसको मञ्चमा एक वर्षपछि भेट हुँदा देउवालाई साक्षी राखेर वार्ता भयो। कांग्रेसले ओलीका लागि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको बीचमा आसन बनाएको थियो। ओली प्रमुख प्रतिपक्षका साथै देशकै ठूलो दलका अध्यक्ष पनि हुन्। 

उता प्रचण्डलाई भने देउवाले आफ्नो दाहिनेतिर राखेका थिए। कांग्रेस महाधिवेशनमा दाहाल र नेपाल पहिले नै पुग्दा ओली भने एमाले बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए। 

त्यहाँ उनले सम्बोधनका क्रममा कांग्रेसलाई सम्झाउनु छ भन्दै हिँडेका थिए। ओली कांग्रेसको मञ्चमा पुग्दा सबै नेता बसिसकेका थिए।

जब ओली मञ्चमा नमस्कार गर्दै उक्लिए तब प्रचण्डले मुन्टो बटारे भने माधव नेपाल प्रतिक्रियाविहीन भएर बसिरहे। 

त्यसबीचमा शुभकामना दिने क्रममा ओली र पूर्व राजातिर लक्षित गर्दै प्रतिगामीहरुले धेरै बल गरेर कुनै अर्थ नरहेको उल्लेख गरे। प्रतिगामीहरुले शिर उठाउन नखोजे हुन्छ भन्दै उनले आफूहरुबीचमा पनि अहंकार बोकेकाहरू रहेको भन्दै कटाक्ष गरे। 

त्यसपछि बोलेका प्रचण्डले एक्लै हिँड्दा अहंकारी हुने भन्दै पाँच दलीय गठबन्धनलाई मिलेर नै जान आग्रह गरे। उनले प्रतिस्पर्धा भए पनि मिल्नेसम्म कुरामा मिलेर नै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

तर त्यसपछि बोलेका ओलीले प्रचण्ड-माधवलाई लक्षित गर्दै कांग्रेसको औँलो नसमाती हिँड्नै नसक्ने बताए। उनले दुई नेतालाई कटाक्ष गर्दै आफ्नो क्षमतामा विश्वास नहुनेहरु अरुको भर परेको पनि टिप्पणी गरे। 

यति घोचपेच भइसकेपछि सुरुमा देखिएको मौनता अन्तिमा तोडियो। त्यहाँ ओल-नेपाल संवाद भएन तर ओली-प्रचण्ड संवाद सम्भव भयो, त्यो पनि देउवालाई साक्षी राखेर।

पोडियममा ओलीले सम्बोधन गरिरहेका थिए। त्यही बेला माइक काटियो। उनले बोल्न पाएनन्। अनि शेरबहादुरजीलाई जिम्मा लगाएर हिँडे भन्दै उनी पोडियममबाट मञ्चतिर अघि बढे। 

त्यही बेला प्रचण्डले देउवासँग बिदा मागिरहेका थिए। ओली आफ्नो आसनमा आइपुगेपछि मञ्चबाट बिदा हुन लागेका प्रचण्डसँग संवाद भयो। 

देउवालाई बीचमा राखेर यी दुई नेताले छोटो कुराकानी गरे। उनीहरु दुईबीच छोटो भए पनि सौहार्दपूर्ण कुराकानी भएको पुष्टि उनीहरुले देखाएको मुस्कानबाट पुष्टि हुन्थ्यो। 

कार्यक्रमबाट बिदा भइरहँदा प्रचण्डले देउवालाई नमस्कार गरे। त्यहीबेला प्रचण्डलाई पनि ओलीले नमस्कार गरे। 

अनि प्रचण्डले पनि आफ्ना पूर्व सहयात्री ओलीलाई मुस्कुराउँदै नमस्कार फर्काए। यी दुईबीच केही सेकेन्ड कुराकानी भयो। उनीहरुबीचको कुराकानीको साक्षी थिए ओलीविरुद्धको पाँच दलीय गठबन्धनका नेता एवम् कांग्रेस सभापति देउवा। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?