बडादसैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ ।
भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो । कुष्माण्डा भगवतीका लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ । चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त हुने मान्यता छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।