गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश कुमार खत्री र महासचिवमा नारायण थापा निर्वाचित

-


     जनहित न्युज    
     मंसिर २४ गते २०८२


जापानमा रहेका नेपाली समुदायबीच खेलकुद तथा सामाजिक गतिविधिलाई सुदृढ बनाउँदै आएको गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले क्लबको आगामी कार्यकालका लागि रमेश कुमार खत्रीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गणेश खत्री उपाध्यक्षहरू दिनेश थापा, सुरज के.सी., अशिम बस्नेत, खिम निउरे महासचिव नारायण थापा सचिव पवन शर्मा, किरण गौतम कोषाध्यक्ष कुशल भण्डारी सह–कोषाध्यक्ष दिपक क्षेत्री (खिम), पवन क्षेत्री निर्वाचित भएका छन ।

त्यसैगरी खेल संयोजक विजय बस्नेत, लेखा संयोजक झंक बहादुर बस्नेत सदस्यहरू प्रेम पुन, कृष्ण बोहोरा, शिवराज कार्की, रोशन बस्नेत (बेलु), राजु क्षेत्री, विशाल उप्रेती क्षेत्री रहेका छन ।

गल्कोट स्पोर्ट्स क्लब टोकियोले स्थापना कालदेखि नै नेपाली युवालाई खेलकुदतर्फ प्रेरित गर्ने, सामुदायिक एकता बढाउने, र विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममार्फत नेपाली पहिचानलाई मजबुत बनाउने लक्ष्य राख्दै आएको छ।

छैटौँ अधिवेशनले क्लबको विगत वर्षकै गतिविधि समीक्षा गर्दै आगामी कार्ययोजनाहरूलाई थप विस्तृत र प्रभावकारी बनाउने निर्णय गरेको आयोजक समितिले जनाएको छ।

नवनिर्वाचित अध्यक्षको प्रतिक्रिया

अध्यक्षमा निर्वाचित रमेश कुमार खत्रीले जिम्मेवारी पाएकाेमा सबैप्रति आभार व्यक्त गर्दै भने—“गल्कोट स्पोर्ट्स क्लब केवल खेलकुदमै सीमित छैन; यो जापानमा रहेका नेपाली समुदायलाई एक ठाउँमा ल्याउने माध्यम हो। आगामी कार्यकालमा क्लबलाई अझ संगठित, सक्रिय र समावेशी बनाउने मेरो प्राथमिकता रहनेछ।”

उनले खेल–प्रतिस्पर्धा, सांस्कृतिक कार्यक्रम, र सामाजिक उत्तरदायित्वमूलक गतिविधि विस्तार गर्ने योजना प्रस्तुत गरेका छन्।
समुदायको व्यापक समर्थन

कार्यक्रममा सहभागी तथा समुदायका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। क्लबको निरन्तर सक्रियता, युवाहरूलाई अवसर प्रदान गर्ने क्षमता र समुदाय निर्माणमा दिएको योगदानका लागि प्रशंसा गरिएको थियो।

तस्वीरमा प्रमाणपत्रसहित उभिएका सदस्यहरूको उत्साह र एकताको झल्को स्पष्ट देखिन्थ्यो, जसले क्लबले आगामी दिनमै अझ प्रभावकारी गतिविधि गर्ने संकेत दिएको छ।

गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौँ अधिवेशनमा नयाँ नेतृत्वको आगमनसँगै जापानमा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सहयोग र एकताको भावना अझै बिस्तार हुने अपेक्षा गरिएको छ। क्लबले आगामी दिनमा अझ व्यवस्थित तथा गतिशील भएर समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

अधिवेशन समरोहमा जापानमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही नेपाली भाषा, साहित्य, कला, सँस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सूचना, सञ्चार एवं सचेतनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ललाई सम्मान गरिएको थियो । यसैगरी क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिरा शेरचन, क्लवका सल्लाहकार तथा टिम कोच अम्मर भण्डारी र क्लवमा सक्रिय सदस्य दीपक क्षेत्रीलाई पनि खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको थियो ।

समारोहमा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तिलक मल्ल, पर्वत समाज जापानका अध्यक्ष राम बाँस्तोला, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, बिहुँकोट समाज जापानका उपाध्यक्ष रामु कँडेल, क्लवका सल्लाहकार रामकृष्णबम मल्ल लगायतले अधिवेशन सफलताको कामना गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

टोकियोमा आयोजना भएको उक्त अधिवेशनमा क्लबका पुराना पदाधिकारी, सदस्य, सल्लाहकार एवं खेलकुदप्रेमी नेपालीको उल्लेखनीय उपस्थिति थियो। 
क्लवका अध्यक्ष दुर्गाबहादुर खत्रीको सभापतित्व र गलकोट समाजका अध्यक्ष रत्नसिंह बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा उपाध्यक्षर् इश्वर बस्नेतको स्वागत मन्तब्य महासचिव दिनेश थापाको सञ्चालन रहेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?