नेपाली अमित केसीलाई जापानको ‘विदेशमन्त्री पुरस्कार’

-


     जनहित न्युज    
     मंसिर २४ गते २०८२


जापान, टोकियो — जापानमा आयोजित ६४ औँ जापानी भाषा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगितामा नेपाली युवा अमित केसीले प्रथम स्थान हासिल गर्दै ऐतिहासिक उपलब्धि सुरक्षित गरेका छन्। प्रतियोगिताको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै नेपालीले जापानको विदेश मन्त्रालयले प्रदान गर्ने ‘外務大臣賞’ (Foreign Minister’s Award) हात पार्नु, जापानस्थित नेपाली समुदायका लागि गर्वको क्षण बनेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर सर्बोत्कृष्ट घोषित भएका केसीलाई प्रदान गरिएको सम्मान अझ विशेष रह्यो। पुरस्कार तथा सम्मानपत्र जापानकी राजकुमारी प्रिन्सेस हिसाको टाकामाडोबाट प्रदान गरिएको थियो, जसले कार्यक्रमको गरिमा र केसीको उपलब्धिलाई अझ उच्च बनाएको थियो।

कार्यक्रममा सहभागी विभिन्न देशका प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुँदा पनि नेपाली प्रतिभाले सम्पूर्ण निर्णायकमण्डल र उपस्थित दर्शकको मन जित्न सफल भए। जापानी भाषा, संस्कृति तथा प्रस्तुति कौशलमा देखाएको कौशलताले केसीलाई विजयी बनाएको आयोजकहरूले बताए।

समुदायका प्रतिनिधिहरूले केसीको यस उपलब्धिलाई जापानमा बसोबास गर्ने नेपालीको पहिचान, मेहनत र क्षमताको प्रतिविम्ब भएको प्रतिक्रिया दिएका छन्।

देशभित्र र बाहिर नेपाली युवाहरू विभिन्न क्षेत्रमा उत्कृष्टता देखाइरहेका बेला केसीको विजयी कदमले नयाँ पुस्तालाई थप प्रेरणा दिएको छ।

एनआरएनए जापानले पनि केसीलाई बधाई दिँदै उज्ज्वल भविष्यका लागि शुभकामना दिएको छ।

नेपाली प्रतिभा र मेहनतले अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ–नयाँ पहिचान बनाइरहेको यो उदाहरण, जापानका लागि मात्र होइन, सम्पूर्ण नेपाली समुदायका लागि गौरवको क्षण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?