नेपालसहित म्याग्दीलाई जापानमा चिनाउन कस्सिए म्याग्देली

-


     जनहित न्युज    
     चैत्र २७ गते २०८०


नेपालसहित म्याग्दीलाई जापानमा चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुन लागेको प्रथम म्याग्दी (मोना) ईताबासी फेस्टिवलको रौनकता बढेको छ ।
अप्रिल २७ र २८ तारिखमा हुने फेस्टिवलमा म्याग्दी, गण्डकी प्रदेश एवम् नेपालका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुको जापानी समुदायमा प्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने गरी प्रचारप्रसार सहित आर्थिक संकलन अभियानमा म्याग्देली जुटेका छन् ।
जापानका विभिन्न क्षेत्रमा पुगेर फेस्टिवलका बारेमा प्रचारप्रसार तथा आर्थिक सहयोग र नेपाली समुदायलाई स्वागत गर्ने गरी कार्यक्रमहरु भइरहेको मुल संयोजक ज्ञानेन्द्र कार्कीले बताए । ‘सबैप्रकारको तयारीलाई एकसाथ अगाडी बढाइरहेका छौ, यो फेस्टिवलले म्याग्दीलाई चिनाउन ठूलो भूमिका खेल्नेछ’ संयोजक कार्कीले भने।

मोना जापानले गण्डकी प्रदेश अन्तर्गतका संघसंस्थाहरु बिच भएको अन्तरक्रिया कार्यक्रम तथा समुदायस्तरमै पुगे प्रचारप्रसार गरिएको छ । फेस्टिवलमा म्याग्दी जिल्लाका पर्यटकीयस्थल, म्याग्दीमा उत्पादन हुने अर्गानिक बस्तु सहित गण्डकी प्रदेशभित्रका धार्मिक तथा पर्यटकीयस्थललाई प्राथमिकता दिएर स्टलमा राखिने मोना जापानका महासचिव सागर कार्कीले बताए ।
फेस्टिबलका बारेमा एनआरएनए जापान, मोना अन्तराष्ट्रिय, गण्डकी प्रदेश अन्तरगत जापानमा रहेका नेपाली संघसंस्थाले समेत आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने साझा प्रतिबद्धता जनाएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्काले म्याग्दी जिल्लाको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास गर्ने फेस्बिलबाट गण्डकी प्रदेशलाई नै झल्किने गरी तयारी भइरहेको बताए ।
मोना जापानका अध्यक्ष विशाल केसीले नेपाल म्याग्दी जिल्लालाई चिनाउने स्वर्मिण अवसर भएको बताए । फेस्टिबलका लागि कार्कीको संयोजकत्वमा १५० सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ । फेस्टिबल सम्पन्न गर्न नेपाली करिब १ करोड खर्च हुने अनुमान गरिएको छ । करीव २१ वटा स्टलहरु रहेको मोना जापानका प्रवक्ता कमल बानियाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?