तोकुतेइ गिनोउ नं. २ भिसामा आउने कामदार अनिश्चित रूपमा जापान बस्न र परिवारलाई पनि साथमा ल्याउन पाउने अनुमति

-


     जनहित न्युज    
     जेठ २६ गते २०८०


जापान सरकारले दक्ष विदेशी कामदारले हालको दुई क्षेत्रबाट ११ वटा क्षेत्रमा आर्जन गर्न सक्ने गरी ‘स्पेसिफाइड स्किल्ड वर्कर २’ लाई आवासको स्थितिसहित विस्तार गर्ने भएको छ।
तोकुतेइ गिनोउ नं. २(特定技能2号)मा अरु ९ वटा क्षेत्र पनि थप गरी जम्मा ११ वटा क्षेत्र बनाउने जापानको मन्त्री परिषदले निर्णय गरेको हो ।
तोकुतेइ गिनोउ नं २ प्राप्त गरेमा कामदारले आफ़्नो परिवार साथमा ल्याउन पाउने र अन्य वर्किंग भिसा सरह दिर्घकालिन रुपमा जापानमा रहन अनुमति दिइने भएको हो। जापान घट्दो जनसंख्याले श्रमशक्ति अभाव हुँदै जान लागेको अवस्थामा विदेशी कामदारहरूको लागि स्थायी बसोबासको लागि मार्ग प्रशस्त यो निर्णय आएको हो।
हालसम्म निर्माण र जहाज सम्बन्धि क्षेत्रमा मात्र नं. २ को ब्यवस्था रहेकोमा अब भवन सरसफ़ाई,औधोगिक उत्पादन,अटोमोबाइल मर्मत, एयरपोर्ट, होटल, कृषी, मत्स्यपालन, खाद्य बस्तु उत्पादन र रेष्टुरेन्ट उद्योगमा पनि तोकुतेइ गिनोउ नं. २ प्राप्त गर्न सकिने भएको हो ।
केहि बाधा ब्यवधान नभएमा आगामी शरद ऋतुदेखि नै यी क्षेत्रहरुको लागि नं. २ को परीक्षा दिएर भिसा परिवर्तन गर्ने ब्यवस्था हुन सक्ने बताईएको छ ।
नं. २ मा परिवर्तन गर्नको लागि फ़िल्डको काम मात्र नभई लिडरसिप तहमा काम गरेको वा गर्न सक्ने क्षमता भएको हुनुपर्ने बताईएको छ । योग्य ब्यक्तिले तोकुतेइ गिनोउ नं. १ को ५ बर्ष अवधि पूरा नगरे पनि नं. २ को लागि परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ । गत मार्च मसान्तको तथ्यांक अनुसार तोकुतेइ गिनोउ नं. २ भिसा प्राप्त गर्नेहरु ११ जना मात्र रहेका छन् ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री फुमियो किशिदाले भने-‘गम्भीर श्रम अभावका कारण जापानलाई कामका लागि आकर्षक गन्तव्यका रूपमा छनोट गरी विदेशीलाई स्विकार्ने वातावरणमा थप सुधार गर्न जापानले काम गरोस् भन्ने चाहन्छु ।‘
तोकुतेइ गिनोउ नं. १ निश्चित दक्ष कामदारहरूको लागि २०१९ अप्रिलमा विशेष औद्योगिक क्षेत्रहरूमा विदेशीहरूलाई स्वीकार गर्न सुरु गरिएको थियो । यो भिसामा जापान ५ वर्षसम्मको लागि बसने अनुमति रहेको छ ।
जापान बसाइको अवधि नवीकरण गर्न सकिने समयको सीमा नम्बर १ लाई पर्याप्त ज्ञान र अनुभव चाहिने र नम्बर २ लाई थप कुशल सीप चाहिने बताइएको छ । कुनै अवस्थामा यदि तिनीहरू एउटै क्षेत्रमा छन् भने तिनीहरूले स्वतन्त्र रूपमा आफ्नो कार्यस्थल छनौट गरि “स्थानान्तरण” गर्न सकिने सरकारी अधिकारीहरूले उल्लेख गरेका छन ।
तोकुतेइ गिनोउ नं. १ का लागि कूल १२ क्षेत्रहरू रहेका छन् र परिवारका सदस्यहरूलाई साथमा ल्याउने अनुमति रहेको छैन।अर्कोतर्फ तोकुतेइ गिनोउ नं. २ परिवारका सदस्यहरूलाई उनीहरूसँगै ल्याउन अनुमति दिन्छ, तर अहिलेसम्म दुईवटा क्षेत्र “निर्माण” र “जहाज निर्माण” मा मात्र तोकुतेइ गिनोउ नं. २ को लागि अनुमति थियो।
अध्यागमन सेवा एजेन्सीका अनुसार मार्चको अन्त्यसम्म १ लाख ५४ हजार ८६४ विदेशी कामदारहरू कार्यरत रहेका छन। विदेशी कामदारहरूको स्वीकृति सम्बन्धमा सरकारको विशेषज्ञ प्यानलले “प्राविधिक इन्टर्न तालिम” प्रणाली खारेज गर्ने अप्रिलमा घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?