
घुम्टे युवा परिवार जापान शाखाले गलकोट नगरपालिका वार्ड नम्बर ७ मल्मका छात्रा विद्यार्थी र एकल महिलालाई स्वाथ्य सामग्री तथा राहत सामग्री वितरण गरेको छ ।
३२ जना विपन्न एकल तथा अपांग महिलाका लागि दैनिक उपभोग्य सामाग्री र वडा भित्रका ४ विधालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन १०२ जना छात्राका लागि प्रति विधार्थीलाई १ वर्ष पुग्ने गरि सेनेटरी प्याड वितरण गरिएको घुम्टे युवा परिवार जापानकी महिला संयोजक कल्पना खड्काले बताईन।
घुम्टे युवा परिवार मल्म, गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालय र महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ संगको सहकार्यमा ११३ औं महिला दिवसको अवसर पारेर एकल महिलालाई दैनिक जीवन निर्वाहमा सहयोग पुर्याउन र महिनाबारीका समयमा छात्राहरूको पढ़ाइमा अवरोध हटाउनका लागि सेनेटेरी प्याड वितरण गरिएको खड्काले बताइन।
प्रत्येक मार्च ८ को दिनमा नारीहरुको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसार भर मनाइने नारी दिवसका अवसरमा आफ्नो जन्मभूमिमा रहेका विपन्न एकल महिला र छात्राहरूलाई सहयोग दिने संस्थाको योजना अनुरूप संस्थागत रूपमा सामग्री वितरण गरिएको अध्यक्ष दिनेश थापाले जानकारी दिए ।
घुम्टे युवा परिवार जापान शाखामा रहेका महिला संयोजक खड्का, उपाध्यक्ष अरुणा थापा, सह-सचिव गंगा थापा, सदस्य बिना खड्का सरस्वती खत्री खड्का र देवि चोखालले एउटा असल घरले समाज बलियो बन्छ र त्यो समाजले बलियो राष्ट्रको निर्माण हुन्छ भन्ने मान्यता अनुरूप यस्ता कार्यक्रम जनमुखी हुने हुदा संस्थामा योजना बनाएर सामाग्री वितरणलाई नियमितता गर्दै जाने योजना ल्याएकोले सो सामग्री वितरणलाई निरन्तरता दिदै जाने सोच रहेको अध्यक्ष थापाले बताए।
सामग्री वितरण कार्यक्रममा बोल्दै मल्म स्वास्थ्य चौकीका प्रमुख अनिता कार्कीले महिलाहरुले आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि हरेक कुरामा अग्रसर हुनुपर्ने बताइन् । उनले सामाजिक संस्थाले नारी दिवसको अवसरमा महिलाहरुको दैनिक जीवनसँग जोडिएको सामाग्री सहयोग गर्नु आफैमा प्रशंसनीय कार्य रहेको बताइन्। कार्कीले सामाजिक संघसंस्थाहरुले महिलाको सामाजिक अवस्थालाई माथि उकास्ने खालका सहयोगी क्रियाकलापहरुमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिइन।
सामग्री वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष दुर्गा थापा र सचिव तुलविर समर्पणको समेत उपस्थिति रहेको थियो । उनीहरूले प्रेम, करुणा, सम्मान, ध्यान, परोपकार, समाजसेवाजस्ता कामहरूमा महिलाले हक खोजिरहनु नपर्ने आर महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष उत्पादनमा सक्रिय सहभागिता जनाउनु पर्ने आजको आवश्यकता रहेको बताए।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा सदस्य यशुदा थापा, निवर्तमान वडा सदस्य पद्मा नेपालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का अध्यक्ष ललिता थापाको अध्यक्षता, उपाध्यक्ष थुम कुमारी थापाको स्वागत र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।





