जापान पठाइदिने भन्दै लाखौं ठगी

-


     जनहित न्युज    
     पौष २५ गते २०७९


वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर मोरङको सुनवर्षीका एकै परिवारका ४ जना फरार भएका छन्।

राम्रो कमाई हुने प्रलोभन देखाउँदै जापान पठाइदिने भनेर सर्वसाधारणसँग रकम असुल्दै आएका सुनवर्षी नगरपालिका-६ का अजय राजवंशी, उनका भाइ रञ्जित राजवंशी, बहिनी विद्या राजवंशी र बुहारी (रञ्जितकी पत्नी) अनुराधा राजवंशी फरार बनेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

प्रशासनका अनुसार अजयको अगुवाइमा विभिन्न व्यक्तिसँग २ करोड ७९ लाख २० हजार रूपैयाँभन्दा बढी रकम असुली गरेको देखिन्छ। पीडित मोरङको सुनवर्षी र रंगेली नगरपालिका तथा कटहरी गाउँपालिकाका छन्।
 
आफूहरूसँग असुलेको रकम फिर्ताका लागि पहल गरिदिनुपर्ने र ठगी गर्नेलाई कारबाही हुनुपर्ने माग गर्दै पीडितले प्रशासनमा उजुरी दिएपछि यो विषय बाहिर आएको हो। वैदेशिक रोजगार सम्बन्धी ठगीमा परेकालाई न्यायका लागि सहजीकरण गर्दै आएको संस्था आप्रवासी स्रोत केन्द्रमार्फत ४१ जना पीडितले बिहीबार मोरङ प्रशासनमा उजुरी दिएका हुन्।
 
नेपाल सरकार र स्वीस सरकारबीच सम्झौता भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार हुँदै स्थानीय तहद्वारा विराटनगर महानगरपालिकामा सञ्चालित यो संस्थाले वैदेशिक रोजगारमा जानेलाई विभिन्न सूचना दिने, पीडितको न्याय  र विदेश जानेलाई सीपका लागि सहजीकरण गर्ने काम गर्छ। केन्द्रकी परामर्शकर्ता मुना कोइराला (निरौला)का अनुसार जापान पठाइदिने भन्दै अजयसहितको समूहले ६ महिनाअघिदेखि रकम असुल्न थालेको पाइएको छ।

‘१ जनासँग ५ लाखदेखि १६ लाख रूपैयाँसम्म असुलेको पाइयो,’ उनले भनिन्, ‘ठगीमा पर्नेको संख्या अझै धेरै हुनसक्छ।’ निरौलाका अनुसार ३ साताअघिसम्म रकम असुलेर राजवंशी परिवारका चारै जना सम्पर्कविहीन भएको पाइएको छ। 

‘विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको छ,’ उनले भनिन्, ‘रकम असुल्ने कामको नेतृत्व अजय राजवंशीले गरेको देखिन्छ।’
 
उनका अनुसार पीडितहरूले विभिन्न बैंक खातामा रकम जम्मा गरिदिएको भौचरसहित उजुरी दिएका छन्। अजयले चितवन घर भएका राजन अधिकारीको नाममा समेत पैसा जम्मा गर्न लगाएको पाइएको निरौलाले बताइन्। उनले भनिन्, ‘विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गरेको देखिन्छ । त्यसको प्रमाणसहित पीडितहरु न्याय माग्दै आइपुग्नु भएको छ ।’

सुनवर्षी-५ का दिपेशकुमार राजवंशी, सुनवर्षी-९ का रमेशकुमार राजवंशी, योगेश राजवंशी, हरि राजवंशी, रंगेली-८ का राजेश्वर राजवंशी, कटहरी गाउँपालिका-२ का विजयकुमार राजवंशीलगायतका पीडितले प्रशासनमा उजुरी दिएका हुन् । 

उनीहरूका अनुसार आफूहरू ठगिएको चाल पाएपछि रकम फिर्ताको माग गर्दै घरमा पुग्दा अजयसहित परिवारका कोही पनि भेटिएनन्।
 
‘राम्रो कमाई हुने भनेर जतिसक्दो चाँडो जापान पठाइदिने प्रलोभन देखाउँदै पैसा मागे । चिनजानकै व्यक्ति भएकाले हामीपनि विश्वासमा पर्‍यौँ,’ पीडितमध्येका दिपेशले भने, ‘गाउँघरमा रोजगारीको विकल्प थिएन । अहिले आएर ठगिएको थाहा भयो।’ उनले ऋण खोजेर दिएको पैसा खाएर अजयसहितका व्यक्ति फरार बनेपछि तनाव थपिएको गुनासो पोखे । 

दिपेशका अनुसार अजयले आफ्नोसहित भाइ, बहिनी र बुहारीका नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए। चितवनका राजेन्द्र अधिकारीको नाममा समेत पीडितहरूलाई पैसा जम्मा गर्न लगाएको उनले बताए । 

रकम जम्मा गर्न लगाएर अजयसहित परिवारका अन्य सदस्य सम्पर्कविहीन बनेपछि बेरोजगार आफूहरू थप मर्कामा परेको गुनासो अर्का पीडित हरि राजवंशीको छ। उनले आफूबाट अजयले ७ लाख रूपैयाँ लिएको पनि बताए। ‘१ जनाबाट १६ लाखसम्म रकम उठाएको भौचर छ,’ हरि भन्छन्, ‘ठूलो रकम उठाएर अजयसहितका व्यक्ति फरार बनेपछि हामी बिचल्लिमा परेका छौँ।’ 
  
पीडितको उजुरी परेसँगै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वैदेशिक रोजगारीका नाममा रकम उठाएर ठगी गर्ने व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिएर प्रशासनमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीले उपस्थित गराएपछि ठगीमा संलग्न भनिएका र पीडितलाई राखेर छलफल गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए। 

‘ठगी गर्ने मानिसहरु उपस्थित गराउन प्रहरीलाई प्रशासनबाट निर्देशन भइसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा दुई पक्षबीच छलफल गराउने छौँ ।’ 

सहायक प्रजिअ साहले प्रशासनमा छलफल गराउँदा रकम फिर्ता हुने अवस्था नदेखिए थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइने जानकारी दिए । ‘पीडक भनिएकाहरु प्रशासनमा उपस्थित भएमा छलफल गरेर समस्याको समाधान खोज्ने प्रयत्न हुने छ । उनीहरु भेटिएनन् भने पक्राउ पूर्जी जारी गर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागलाई आग्रह गरिने छ । अहिले पीडितले दिएको उजुरीको अध्ययन गर्ने काम भइरहेको छ ।’यो समाचार  अन्नपूर्णका लागि किशोर बुढाथोकीले लेखेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?