‘फिने’ जापानको पहिलो वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

-


     जनहित न्युज    
     कार्तिक २३ गते २०७९


टोकियो,अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) जापान शाखाले आफ्नो पहिलो वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ ।

सिजुओका प्रान्तको इजुनोकुनीमा शनिबार आयोजित कार्यक्रममा सहभागीहरुले व्यवसायिक सफलताका लागि आफुले गरेका प्रयास, भोगेका चुनौती र तिनको समाधानका लागि गरेका प्रयासहरुबारे एक आपसमा विचार तथा अनुभवहरु साटासाट गरेका थिए ।

अनुभव आदानप्रदान तथा उद्यमीहरुवीच संजाल विस्तारको उद्देश्यसहित आयोजित कार्यक्रममा अतिथी वक्ताका रुपमा ‘नागोया युनिभर्सिटी अफ फरेन स्टडीज’ का प्रोफेसर डा. विश्वराज कंडेलले ‘दक्षिण एसियामा कर्पोरेट सुशासन र कर्पोरेट सामाजिक उत्तरदायित्व’बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए भने जुम क्रियटिभ्सका डाइरेक्टर बिष्णु सुबेदी निशानले ‘व्यवसायिक सफलता र व्यापार वृद्धिका लागि सामाजिक संजालको प्रयोगलाई कसरी प्रभावकारी बनाउने?’ भन्ने विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै जापान शाखाका अध्यक्ष सुजन जोशीले ‘फिने’ सधै उद्यमशिलता विकास र सेवामा सदस्यहरुलाई निष्पक्ष रुपमा सहयोग सधै गर्न तत्पर रहेको र नेपाली उद्यमीहरुलाई एउटै प्लेटफर्ममा जोड्न क्रियाशिल रहेको बताए । महासचिव बिजेन ज्ञवालीले जापानमा रहेका क्रियाशिल युवा उद्यमीहरुलाई एकै ठाउँमा जोड्ने अभियानमा संस्था रहको बताए ।

नेपाल बाहिर रहेका नेपाली युवा उद्यमीहरुलाई एउटै छाताभित्र संगठित गर्ने उद्देश्यसहित सन् २०२१ सालमा स्थापित यस संस्थाले जापानसहित अस्ट्रेलिया, अमेरिका, युके, चीन, हङकङ र नेपाल सहित मध्यपूर्वका देशहरुमा आफ्नो संजाल विस्तार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?