
टोकियो, जापान । जापानमा आइतबार भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त बनेको छ। उत्तरीदेखि पश्चिमी जापानसम्म फैलिएको हिउँले हवाई र रेल सेवा नराम्ररी प्रभावित भएका छन्।
शक्तिशाली हिउँदे वायुको प्रभावका कारण जापानको पश्चिमी तटीय क्षेत्र (सी अफ जापान) मा कीर्तिमानी हिउँ परेको छ। विशेष गरी क्योटो, तोत्तोरी र फुकुई लगायतका क्षेत्रमा छोटो समयमै बाक्लो हिउँ जमेपछि मौसम विभागले ‘उल्लेखनीय भारी हिमपातसम्बन्धी जानकारी’ जारी गरेको छ। आइतबार साँझसम्मको तथ्याङ्क अनुसार आओमोरीको सुकायुमा ४२० सेन्टिमिटरसम्म हिउँको थुप्रो लागेको छ भने राजधानी टोकियोमा पनि २ सेन्टिमिटर हिउँ रेकर्ड गरिएको छ।
हिमपातका कारण यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ। अल निप्पोन एयरवेज (ANA) र जापान एयरलाइन्स (JAL) का गरी कुल २७६ उडान रद्द हुँदा करिब ४४ हजार ४५० यात्रुहरू मर्कामा परेका छन्। त्यस्तै, जेआर ईस्टको चुओ लाइनमा भएका ढिलाइ र रद्दीकरणले ३३ हजारभन्दा बढी रेल यात्रुहरू प्रभावित भएका छन्। मौसम विज्ञान विभागले १० वटा प्रिफेक्चरमा भारी हिमपातको चेतावनी जारी गर्दै सोमबार साँझसम्म होकुरिकु क्षेत्रमा ६० सेन्टिमिटरसम्म थप हिउँ पर्ने पूर्वानुमान गरेको छ। अधिकारीहरूले हिमपहिरो र घरको छानाबाट खस्ने हिउँबाट बच्न सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।



