गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न

-


     जनहित न्युज    
     भाद्र २२ गते २०८०


जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर जापानमा छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक सेप्टेम्बर ५ तारिक सम्पन्न साधारण सभामा विधान संशोधन, वार्षिक कार्यक्रमको तर्जुमा, विगतका कार्यक्रमको समिक्षा समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र सम्पर्कमा अभिवृद्धि गर्नेगरि स्थापना भएको समाजको साधारण सभामा प्रमुख अतिथिको रूपमा रहेका संरक्षक मोहन खत्रीले समाजले स्थापनाकाल देखि नै सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याउदै आइरहेकोले अब दीर्घकालीन सेवा दिने रचनात्मक कार्यमा सहयोग गरिनुपर्ने बताए ।

“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध गराऔं”भन्ने मुल उदेश्यका साथ सन २००६ सालमा स्थापना भएको गलकोट समाज जापान सामाजिक सेवाका कार्यमा निरन्तर सक्रिय रहदै आएको समाजले सामाजिक सेवाका बहु आयामिक क्षेत्रहरूमा दिगो र प्रभावकारी हुने गरि कार्य गर्नुपर्नेमा साधारण सभामा बोल्ने वक्ताहरूले जोड दिएका थिए ।
साधारण सभामा बोल्नेहरूमा समाजका संरक्षक नरबहादुर थापा यम खत्री, गलकोट स्पोर्ट्स क्लब टोकियोका अध्यक्ष डिलाराम निउरे, संस्थापक महासचिव तेजेन्द्र थापा सल्लाहकार भवानी पन्त, बाबुराम सापकोटा, महेश मल्ल लगायत रहेका थिए ।

समाज स्थापनादेखि हालसम्म गरेका कार्यलाई लिपिबद्ध बनाइनु पर्ने, समाजको सहयोगमा बनेका भौतिक संरचनाको संरक्षण र सहि सदुपयोगमा ध्यान दिनुपर्ने, कोष परिचालनमा मितव्यायी हुँदै अभिवृद्धिका लागि ठोस योजना ल्याउनुपर्ने, समाजद्वारा संचालित अक्षयकोषको व्यवस्थित परिचालन गरिनुपर्ने, जापानमा रहेका नेपालीहरूलाई जानकारी तथा सहि सूचना दिनका लागि सचेतनमूलक कार्यक्रम पनि गरिनुपर्नेमा साधारण सभाले निर्देशन गरेको समाजकी अध्यक्ष कालिका थापाले बताईन ।

साधारण सभालाई नीतिगत रूपमा छलफलको फ़ोरम बनाउने सोच सहित समाजको इतिहासमैं पहिलो पटक सम्पन्न वार्षिक साधारणले काम गर्दै गर्दा आएका नीतिगत समस्याको समाधानका लागि विधानमा व्यापक छलफलसहित संशोधन गरिएको छ ।सभाले गत वर्षको प्रगतिप्रतिवेदन तथा आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।

कार्यक्रममा संस्थापकहरूलाई दोसल्लाद्वारा र गलकोटबाट एनआरएनए जापानका विभिन्न पदमा निर्वाचितहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
समाजकी अध्यक्ष कालिका थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन महासचिव लक्ष्मण कार्की स्वागत महिला उपाध्यक्ष चन्द्राकुमारी केसी र साधारण सभाको औचित्य र आवश्यकताको बारेमा वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले प्रकाश पारेका थिए ।

गलकोट समाज जापानले सामाजिक सेवाका क्षेत्रमा मानवीय, भौतिक, आर्थिक समन्वयात्मक र एट्भोकेसीका क्षेत्रमा काम गर्दै आइरहेको छ । समाजले यस यस वर्ष मात्र गलकोट नगर अस्पतालमा ३५ लाख बराबरको ‘अल्ट्रासाउन्ड’ मेसिन, गलकोट वार्ड नम्बर ८, ९ लाई केन्द्रित गरेर एम्बुलेन्स, वार्ड नम्बर १० पाण्डवखानीको स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । यस अघि पनि समाजले विद्यालय भवन निर्माण, आखा उपचार केन्द्रको भवन निर्माण, तारा गाउपालिकामा एम्बुलेंस, कोरोनाको महामारीमा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाल तथा जापानमा अप्ठ्यारोमा परेकालाई आर्थिक सहयोग लगायतका कार्य गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?