सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिल्यो

-


     जनहित न्युज    
     पौष २४ गते २०७९


काठमाडौँ- सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएकाे छ ।

आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएकाे हो ।

सहमति अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ। बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ वर्ष सरकार चलाउने भएको हो। 

‘बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएछ, पहिलो कार्यकाल म मुख्यमन्त्री हुनेछु’ नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलल्ले भने।

स्रोतका अनुसार नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ। प्रदेश १ मा आजै एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन्।

यस्तै, कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने छ।

मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ।

बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन्।

यस्तै, सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा मिलाएका छन्।

आइतबार भएको निर्णयअनुसार मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ।

यस्तै, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ।

बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ। बागमतीमा निर्णायक रहेको राप्रपाले मुख्यमन्त्री दाबी गर्दै आएको थियो।

यस्तै, प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन्।

मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?