शरीरमा ‘बुलेट’ बोकेर ब्यालेटको लडाईमा हिमाल

-


     नवीन शिशिर विक    
     वैशाख २५ गते २०७९


बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमी हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिती जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालिन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना वेपत्ता छन । कुटाई पीटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ ।

द्वन्द्वकालिन अवस्थामा होस या शान्ति प्रक्रिया पछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी भएका थिए।

ताराखोला गाउँपालिकाको उपस्थिती शान्ति प्रक्रिया पछिको ‘ब्यालेट’ आन्दोलन मात्र होईन तत्कालिन ‘बुलेट’ आन्दोलनमा पनि त्यस क्षेत्रका ऊर्जाशिल युवाहरु परिवर्तनको आन्दोलनमा सहभागी भए । राज्य व्यवस्था र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएका कति व्यक्तिसहिद बने कति घाईते अपाङ्ग भएर जीवन जिउन बाध्य छन् ।

माओवादी आन्दोलनमा जीवन समर्पित गर्ने धेरै योद्धा मध्ये एउटा नाम हो धनबहादुर विक ‘हिमाल’ । युद्धाकालीन अवस्थामा लडाकु मोर्चा हुँदै राजनीतिक मोर्चाको जिम्मेवारी लिनुभएको धनबहादुर विकलाई एकीकृत माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ताराखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा विक जनभेटघाटमा व्यस्त छन । शरीरमा गोली बोकेर जनताको घरघरमा पुग्ने मत माग्दै छन । वि.स २०६० वैशाख ७ गते म्याग्दीको बेनी आक्रमणको क्रममा विक घाईते भएका थिए । त्यस बेला बायाँ हातमा लागेको गोली उनको शरीरमै छ । तत्कालिन अवस्थामा स्वास्थ्य उपचारको अभावले शरीरमै गोली लिएर बाँच्नु परेको विकको भनाई छ ।

शान्ति प्रक्रिया पछि उपचार गर्दा डाक्टरले अप्रेशन गरेर गोली निकाल्दा शरीरमा थप क्षति हुने बताए पछि गोली बोकेर हिँड्न बाध्य हुनु परेको हो । गोली निकाल्दा रक्तसञ्चार अवरुद्ध हुन सक्ने डाक्टरले सुझाएको विकले बताए ।

‘धेरै चिसो र धेरै गर्मीको बेला खपि नसक्ने दुःखछ’ विकले भने-‘परिवर्तन लागि सर्पित हुँदा जीवनभरको लागि दुखाई भोग्न परेको छ ।’ बेनी आक्रमणको विहानपख नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली लागेको थियो । आक्रमणको मोर्चामा विकले राजनीतिक तथा घाईते उद्धारको जिम्मेवारी पाएका थिए । घाईते साथीलाई उद्धार गर्दा गोली लागेको विकले बताए । हेलीमार्फत प्रहार भएको गोली लागेर विकसँगै रहेका दश जना माओवादी कार्यकर्ताको घटनास्थलमै निधन भएको थियो ।

वि.स २०५५ सालमा म्याग्दी हुँदै बागलुङको पश्चिम क्षेत्रमा जाँदै गर्दा आफैले बोकेको बन्दुक पड्किदा विकको दायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो । जसको कारण अहिले पनि सामान्य अवस्थामा हिड्डुल गर्न कठिन छ । उकालो ओरोलो गर्दा खैचकखैचक गर्नुपर्ने बाध्यता छ । आन्दोलनमा सहभागी हुँदा विकले व्यक्तिगत मात्र होईन पारिवारक क्षति पनि भोग्नु पर्यो । माओवादी आन्दोलनमा सहभागी विकको दाईकी छोरी लक्षिम विक ‘हिक्मता’ले दोहोरो भिड्न्तमा ज्यान गुमाए । आन्दोलनमा सहभागी भएकै कारण तत्कालिन राज्य पक्षले विकको घरमा ‘बम प्लास्ट’ घर ध्वस्त बनाउनुका साथै परिवारका सदस्यलाई शारीरिक तथा मानसिक यातना भोग्नु परेको थियो ।

जनमिलिसिया, राजनीतिक मोर्चा, निर्माण विभाग, दलित मोर्चा हुँदै राजनीतिक नेतृत्व गर्नुभएको विक हाल माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन । ताराखोला गाउँपालिकाको स्रोत साधनको उच्चतम प्रयोग गरी गाउँमै रोजगार सृजना गर्ने, कृषी उत्पादनलाई व्यवसायिक बनाउने, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा सडक क्षेत्रको व्यापाक सुधार गर्ने उहाँले योजना सार्वजनिक गरेका छन। जनप्रतिनिधिले पाउने आर्थिक सुविधा नलिने घोषणा गरेका छन ।

विकको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता प्रकाश घर्ती हुनुहुन्छ । घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन । पहिलो निर्वाचनमा घर्ती माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन अवस्थामा विक नै घर्तीको चुनावी ‘कमाण्ड’ सम्हालेका थिए। पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली काँग्रेस चुनावी एकतामा रहेको हुँदा निर्वाचन सहज आँकलन गरिएको थियो ।

आफ्नै पार्टी नेतृत्व सदस्य वागी उम्मेदवार उठे पछि निर्वाचन चुनौतीपूणर् हुने आंकलन गरिएको छ । घर्तीले पार्टी विधान विपरित उम्मेदवारी दिएको हुँदा प्रदेश कमिटीले कारर्वाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादीको आधिकारिक उम्मेदवारसँग राजनीतिक सुझबुझ, दरिलो जनसंगठन, र विकास र समृद्धिको स्पष्ट योजना भएको हँुदा आधिकारिक उम्मेदवारले निर्वाचन जित्ने माओवादी गाउँ कमिटी अध्यक्ष पदम खत्रीको दावी छ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट ऋषिराम रोका चुनावी प्रतिस्पर्धामा छन ।

त्रिपक्षीय प्रतिस्पर्धामा माओवादीको आधिकारिक उम्मेदवारलाई वागी उम्मेदवारकै मुख्य समस्या देखिन्छ । तुलनात्मक रुपमा नेकपा एमाले ताराखोला गाउँपालिकामा तेस्रो शक्ति हो । माओवादी, नेपाली काँग्रेस, जनमोर्चा, एकीकृत समाजवादी पार्टीले वडा तहसम्मै गठबन्धन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?