नेकपा एमालेका एकजना नेता घनश्याम भुसालको शब्दमा एमालेमा देखिएको विवाद समाधानतर्फ १० दिनयता खासै प्रगति हुन सकेको छैन।
सोमबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको सुनुवाइ सकिनेबित्तिकै सक्रिय भएको कार्यदलको मात्रै त्यसयताका ४ दिनमा ५ वटा बैठक बसिसक्यो।
नेताहरुले भनेको सहमति हुने ‘भोलि’
त्यसअघि पनि अनौपचारिक छलफलमा एमाले विवाद समाधानका लागि मस्यौदा तयार भएको नेताहरुले बताएका थिए। त्यही मस्यौदामा टेकेर ओली पक्षसँग ४ दिनदेखि विवाद निरुपण गर्न लागिपरेका नेताहरुले बिहीबार पनि ठोस निश्कर्ष निकाल्न सकेनन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साँझ साढे ७ बजेदेखि जारी बैठकले केही निश्कर्ष सुनाउने नेताहरुले बताएका थिए। आजै बिहान अर्थ मन्त्रालयमै बसेको बैठकपछि नेता सुवास नेम्वाङले साँझको बैठकले केही नयाँ निर्णय गर्ने बताएका थिए।
तर उनै नेता नेम्वाङले साँझको बैठकपछि अझै ठोस निश्कर्ष निकाल्न नसकेको बताए। चरम चुलीमा पुगेको एमाले विवादबीच वैशाख ३० यता ५५ दिनपछि केपी शर्मा ओली र माधव नेपालबीच बुधबार साँझ होटल मेरियटमा भेट भएको थियो।
आज छलफल नै नगरी उठेको कार्यदलका एक सदस्य नेता भुसालले सञ्चारकर्मीसँग भने, ‘हामीले गत १० दिनयता सहमतिका लागि खास प्रगति गर्न सकेका छैनौँ।’
बुधबार साँझ एकाएक नक्सालस्थित होटल मेरियटमा भेला भएका ओली-नेपालले झण्डै २ घण्टा संवाद गरे। कार्यदल सदस्यहरुको ब्रिफिङसहित एक्लाएक्लै वार्ता गरेका दुई नेताको भेटघाटले अझै एमाले विवाद मिल्ने दिशातर्फ लान सकेन।
असहमति
मुख्यतः नेता नेपालले राखेका दुईवटा सर्तसँग ओली सहमत हुन सकेका छैनन्। पार्टी अध्यक्षको जिम्मेवारी र सबै निर्णयहरूमा दुवैजनाको हस्ताक्षर हुनपर्ने शर्तसहित नेपाल समूह अघि बढेपछि वार्ता बिथोलिन थालेको छ।
१० दिनदेखि प्रगति शुन्य !
एमाले कार्यदल ब्यूँतिएको पनि ४ दिन भइसकेको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सोमबार अपरान्ह सर्वोच्चमा सकिएसँगै सिंहदरबारमा कार्यदलका नेताहरु भेटेका थिए।
त्यसअघि आइतबार साँझ माधव समूहका नेता भीम रावल बालुवाटार पुगेर ओलीसँग १ घण्टा वार्ता गरेका थिए। ओली-नेपाल पानी बाराबारको अवस्था रहँदा पनि एमाले अन्तरसंघर्ष मिलाउने अभियानमा दोस्रो तहका नेताहरु निरन्तर सक्रिय थिए।
आज छलफल नै नगरी उठेको कार्यदलका एक सदस्य नेता भुसालले सञ्चारकर्मीसँग भने, ‘हामीले गत १० दिनयता सहमतिका लागि खास प्रगति गर्न सकेका छैनौँ।’
उनका अनुसार १० दिनअघि नै सहमतिका लागि केही एजेण्डा तय भएका थिए। तर, ती एजेण्डाथिको छलफलले खासै प्रगति नगरेको उनले सुनाए। ‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौँ। त्यसबेला केही एजेण्डा तय गरेका थियौं, इन्फरमल्ली’, उनले भने, ‘अनौपचारिक धेरै लामो छलफल गरेपछि एजेण्डा तय भएका थिए। तर खास र ठोस प्रगति गर्न सकेका छैनौँ। अहिले उहाँ (विष्णु पौडेल) को बैठक पर्यो। अनि छलफल हुन सकेन।’
उता, ओली पक्षीय नेता सुवास नेम्वाङ भने भोलिसम्म केही हुने भन्दै आफू आशावादी रहेको बताए। उनले आज बिहान विवाद बेलुकीसम्म टुंगोमा पुग्ने बताएका थिए। तर उनै नेम्वाङले सहमतिको भाका भोलिलाई सारे। ‘अझै टुंगोमा पुग्न सकेका छैनौँ। हामी आशावादी छौं’, उनले भने, ‘भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउँछ भन्ने आशा छ।’
सञ्चारकर्मीसँग कुरा गर्न उभिएका नेम्वाङमाथि पत्रकारले प्रश्न गरे, ‘भर्खरै घनश्याम भुसालले भन्नुभएको, १० दिनदेखि खास केही प्रगति भएको छैन रे त ?’ चनाखोपूर्वक प्रश्न सुनेका नेम्वाङले त्यसपछि खासै प्रगति नभएको बताए।
उनले घुमाउरो शैलीमा भने, ‘तपाईंहरुलाई निष्कर्षमा भन्दा खास कुरा त्यही हो, केही उल्लेखनीय प्रगति छैन। तीन वर्ष अघिदेखि यो अवस्थामा छौं। तीन वर्षदेखिको जटिल अवस्थालाई ९/१० दिनमा यो ठाउँमा पुर्याएछौँ भनेपछि धेरै ठूलो कुरा गरेका रहेछौँ।’
त्यसपछि अर्को प्रश्न नेम्वाङतर्फ अर्का पत्रकारको तेर्सियो। ‘तपाईंहरु आज विषयमा प्रवेश नै गर्नुभएन ?’नेम्वाङको जवाफ थियो, ‘हामीले विषयवस्तुमा प्रवेश गर्यौं। त्यसलाई निष्कर्षमा पुर्याउनेबारे छलफल भइरहेको छ।’
लगत्तै अर्का पत्रकारले प्रश्न गरे,‘मिल्न बाँकी कुरा के के हुन् ? मिलिसकेका के के हुन्?’ नेम्वाङले स्पष्ट पार्दै भने, ‘स्पष्ट रुपमा अहिले तपाईंहरुलाई यो कुरा नभन्ने कुरा भएको छ।’
नेम्वाङको जवाफ नसकिँदै अर्को प्रश्न आयो,‘सञ्चारमाध्यमसँग भागेर हुन्छ त ? जनताले त थाहा पाउनुपर्यो नि ?’उनले अन्तिममा भने, ‘निष्कर्षलाई ठीक ठाउँमा पुर्याउन यसो पनि गर्नुपर्ने हुँदो रहेछ। भोलि तपाईंहरुलाई जे छ त्यही भन्छौं।’
नेपाल समूह सशंकित
पट पटक भएको वार्ता असफल भइरहेको बेला ओली सकारात्मक भए जस्तो देखिनुले नेपाल समूहमा अझै शंका बढाएको छ। ‘एकता हुँदा पनि सम्मानजनक हुनुपर्छ। ओलीले आफू अप्ठेरोमा परेपछि यसअघि पनि वार्ता भनेर अलमल्याउने गरेका थिए’, नेपाल समूहका एक नेताले भने, ‘पावर सेयरिङमा कम्प्रमाइज नगर्नुले उनको नियत यो पटक पनि अर्कै हो जस्तो देखिन्छ।’
त्यसो त, एमालेमा ओलीका कट्टर विरोधी नेता भीम रावल यो पटक वार्तामा सक्रिय भएर लागेका छन्। कहिले ओली निवास त कहिले नेपाल निवास पुगेर सहमतिको मस्यौदा बनाउन लागिपरेका रावल यो पटक सहमतिका विषय केलाउँदै छन्।
ओलीले पार्टी एकतामा रुचि नदेखाएर सर्वोच्च अदालतको विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको बुझाइ नेपाल समूहको छ। नेपाल पक्षीका एक नेताले भने,‘यसो उसो गरेर सर्वोच्चमा विचाराधीन मुद्दा प्रभावित गर्न र पाँच दलीय गठबन्धनमा अविश्वास बढाउन खोजिए जस्तो देखिएको छ। सकारात्मक सन्देश आउने सम्भावना त्यति देखिँदैन।’
पछिल्लो पटक हिजो मेरियटमा भएको वार्तामा वरिष्ठ नेता नेपालले पार्टी एक बनाउने हो भने दुवै जनाको साझा हस्ताक्षर चलाउनुपर्ने अडान राखेका थिए। उनले अबको महाधिवेशनमा आफूलाई अध्यक्षमा जाने ग्यारेन्टी पनि खोजेका थिए। तर ओलीले नेपालको पावर सेयरिङ प्रस्तावलाई अस्वीकार गरिरहेका छन्।