
एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदान गरेको छ ।
नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा प्रदान गरिने गरि शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ।
सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेसंगै देशका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राबाट प्राप्त आवेदन र सो विद्यालयको समन्वयमा छात्रवृतिका लागि छनोट गरिएको क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले बताए ।
छनोट भएका बालबालिकाको लागि जापानमा रहेर विभिन्न पेशा व्यावसाय गर्ने ३५ जना सामाजिक व्यक्तित्वहरूले सो छात्रवृतिका लागि रकम व्यहोर्ने गरि गरिएको सो पत्रकार सम्मेलनमा संयोजक शर्माले जानकारी दिए । यस खालको छात्रवृतीलाई आउने कार्यसमितिले पनि निरन्तरता दिएर शिक्षा नै सबैभन्दा ठूलो धन हो र शिक्षित समुदाय बिना कुनै पनि देशको विकास र परिवर्तन सम्भव छैन भन्ने मान्यतालाई प्रवासबाट एनआरएनएको माध्यमद्वारा दिन खोजिएको शर्माको भनाइ छ ।
नेपालका विकट तथा दुर-दराजका बस्तिहरूमा शिक्षा आर्जन गर्न बाल-बालिकाहरूलाई केहि मात्रामा भएपनि सहज होस भन्ने मान्यताका साथ कान्साइ क्षेत्रीय समितिले गरेको यो कार्य उदाहरणीय र सिक्न लायक रहेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।
भर्चुवल रूपमा भएको कार्यक्रममा नेपालका विभिन्न ठाऊबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यालयका शिक्षक र बालबालिकाको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम शर्माको अध्यक्षता र सचिव तेजप्रकाश गुरूङको संचालनमा सम्पन्न भएको थियो ।
छात्रवृत्ति प्राप्त गर्ने एक प्रदान गर्नेहरूको पूर्ण जानकारी यहाँ छ ।



