गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन पछिको अवस्था थप रस्साकस्सीमा पुगेको छ । भोलि अर्थात् अग़स्ट ८ तारिकका दिन निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले राखेको सपथ ग्रहण कार्यक्रम रोक्नका लागि एसिया प्रशान्त क्षेत्रका संयोजकले निर्देशन जारी गरेपछि अन्यौलमा परेको छ ।तर पूर्व निर्धारित सपथ ग्रहण नरोकिने बताईएको छ ।
जापानको नेपाली समाजको एकता भाईचारा एवं सत्भावलाई कायमै राख्नका लागि गैर आवासीय नेपाली संघको विधानको दफा १७.७.२ र अनुसूची ८ बमोजिम अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तको निर्देशन अनुसार अग़स्ट १३ तारिकका दिन शपथ गर्ने गरि भोलि हुन लागेको शपथलाई रोक्न संयोजक गोविन्दप्रसाद श्रेष्ठ रोबिन्दले पत्रमार्फ़त निर्देशन जारी गरेका हुन । यता तोकिएको निर्धारित सपथ ग्रहण हुने नै भन्ने छ रोकिएको भन्ने हामीलाई जानकारी छैन निर्वाचित एक पदाधिकारीले भने ।
निर्देशित पत्रमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको मतदाता नामावली र निर्वाचन परिणामका सम्बन्धमा छानबिन गर्न समिति गठन भैसकेकोले उक्त समितिको प्रतिवेदन यथाशक्य चाडो बुझाईदिनका लागि अनुरोध गरिएको छ ।
एनआरएनए जापानको अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उदेश्यले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)सँग आवश्यक परामर्शमा गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका संस्थापक अध्यक्ष प्रधानाङ्गको संयोजकत्वमा सुमन खड्का, सुकमान थिंङ, वेद काफ्ले र अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)बाट एक विज्ञको सहभागी रहने गरी अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सो समितिले आफ़नो कार्य तदारूपताका साथ गरिरहेको जनाएको छ । साथै छनबिनको प्रतिवेदन सार्वजनिक नहुने समयसम्मका लागि एनसीसी जापानका कुनै गतिविधि नगर्न नगराउन आग्रह समेत गरेको छ ।