जापानको टोकियोमा जारी ओलम्पिक-२०२० अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ। शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो ।
फाइनल भिडन्तमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै क्यानडाले स्वर्ण चुमेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।
रजतमा चित्त बुझाउन बाध्य स्विडेनको तर्फबाट ओलिभिया र नाथलियाले मात्रै गोल गर्न सफल भए।
खेलको निर्धारित समयको पहिलो हाफमा स्विडेनले अग्रता बनाएको थियो। खेलको ३४ औँ मिनेटमा स्टिना ब्लाक्सटेनिउसले गोल गरेर स्विडेन अगाडि बढाएकी थिइन्।
तर क्यानडाका लागि खेलको ६८ औँ मिनेटमा जेस्सी फ्लिमिङले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछिको बाँकी र अतिरिक्त समयमा पनि गोल नएपछि पेनाल्टीबाट छिनोफानो हुँदा क्यानडाले स्वर्ण चुमेको हो।