बेनिड्रोममा कलाकारहरुसंगै हाँस्ने र नाच्ने कार्यक्रम सम्पन्न

-


     जनहित न्युज    
     पौष २१ गते २०८०


अंग्रेजी नयाँ बर्ष २०२४ तथा गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसर पारेर स्पेनको बेनिड्रोममा मंगलबार आयोजित साँगीतिक कार्यक्रममा कलाकारहरुसँग दर्शक मज्जाले झुमेका थिए । नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति काष्टाब्लाङ्काको आयोजनामा आयोजित हास्ने र नाच्ने कार्यक्रममा नेपाल बाट आउनुभएका चर्चित कलाकारहरुले प्रस्तुती दिनुभएको थियो।
लाखौं नेपालीका ढुकढुकी बन्न सफल कलाकार राम चन्द्र काफ्ले, चर्चित हास्य कलाकार जितु नेपाल मुन्द्रे तथा चर्चित गायिका जुनु रिजाल काफ्लेलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा स्पेनबासी नेपाली हर्षले विभोर हुँदै उनीहरुका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए ।

प्रवासमा रहेका नेपालीहरुले नेपाली कलाकार प्रतिको सम्मान भाव तथा कलाकारहरुको प्रस्तुतिप्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । सँगै नाच्ने गाउने र सेल्फी खिच्ने नेपालीहरुद्वारा घेरिएका कलाकारहरु आफै पनि प्रवासमा रहेका नेपाली बिचमा आफ्नो प्रस्तुति दिन पाउँदा उत्साहित थिए ।
बेनिड्रमको होटल मारिनामा मंगलबार लोकप्रिय गायक रामचन्द्र काफ्लेले फेवातालमा साईली, उहिमुलाको सिन्की उहि मुलाको चाना, माया फेवा तालैमा, हरियो डाडाँ माथि हलो जोत्ने साथी, झिमकाईदेउ परेली लगायतका करिब १ दर्जन गीतहरु गाउनुभएको थियो भने गायिका जुनु रिजालले फुल मन्जरी, नदोस तिम्रो, सपनामा आयो परदेशी मेरो, लगाएतका गीतहरु प्रस्तुत गनुभएको थियो ।
कार्यक्रममा हास्य कलाकार जितु नेपाल मुन्द्रेको प्रस्तुतिले दर्शकलाई थप रोचक बनाएको थियो । विदेशमा बसेपनि नेपाली भाषा र सँस्कृतिलाई कहिले नभुल्न आग्रह गर्दै कलाकार नेपालले नयाँ पुस्तालाई देशको माटोसंग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गर्न यस्ता साँगीतिक कार्यक्रमले अझ थप सफलता मिल्ने बिश्वास ब्यक्त गर्नुभएको थियो । उहाँले समसमायिक बिषय तथा नेपालको राजनितीक अवस्थाको सन्दर्भमा चोटिलो ब्यग्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भ्रमणको शिलशिलामा रहनुभएका स्पेनमा आउनुभएका अग्रज ब्यक्तीत्वहरु टिकाराम कडेंल, रघुनाथ सापकोटा, बिष्णुमाया सापकोटा, भुवन रत्न बज्राचार्य र तीर्थ देवी बज्राचार्यलाई सम्मान गरिएको थियो । तमु ल्होसारको अवसरमा स्थानीय कलाकार सहेरा गुरुङ र दीपक लामिछानेले सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरेको कार्यक्रमका संयोजक केशव कडेंलले जानकारी दिनुभयो ।

कार्यक्रम एनआरएनए स्पेनका केन्द्रीय उपाध्यक्ष तथा समाजका वरिष्ठ सल्लाहकार सुरेन्द्र भुजेल थापाका प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा नव प्रतिभाहरुलाई समेत स्थान दिएको थियो ।
कार्यक्रम एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यको अध्यक्षता नेपाल समाज एसोसिएसनका प्रवक्ता घनश्याम गौतमको स्वागत तथा एनआरएनए स्पेनका सचिव सन्तोष अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?