जापानको राजधानी टोकियोमा आयोजित २०२० टोकियो पाराओलम्पिक खेल समापन भएको छ । कोरोना भाइरस प्रभावका कारण एक बर्ष स्थगीत पछि आयोजित खेल आइतबार समापन समारोह सम्पन्न भएको हो ।
खेल समापनसँगै टोकियो पाराओलम्पिक आयोजकले झण्डा अर्को आयोजक शहर पेरिसलाई हस्तान्तरण गरेको छ । १३ दिन आयोजित खेल आयोजना यो सँगै समापन भएको छ ।
टोकियो ओलम्पिक र पाराओलम्पिक खेल विशेष र असामान्य तरिकाले सम्पन्न भएको छ । जसमा खेल स्थानहरु उहि रहेपनि ईतिहाँसमै पहिलो पटक खेल आयोजना आम दर्शकको उपस्थितिबिना सम्पन्न गरिएको छ ।
गत महिनाको २४ तारिखमा शुरू भएको टोकियो पाराओलम्पिक खेल सन् १९६४ पछि दोस्रो पटक टोकियो शहरले आयोजना गरेको हो । एउटै शहरमा दुईपटक ओलम्पिक र पाराओलम्पिक खेल आयोजना भएको यो ईतिहाँसमै पहिलो पटक हो ।
२२ वटा विधामा १६२ देश तथा क्षेत्रका खेल समुहहरुले पाराओलम्पिकमा सहभागीता जनाएका थिए । जसमा ४,४०० सय खेलाडिहरुले सहभागीता जनाउँदा शरणार्थी टिमको पनि सहभागीता रहेको थियो ।
उद्घाटन समारोह जस्तै समापन समारोहपनि बिना कुनै दर्शक राजधानी टोकियोको मध्य भागमा रहेको राष्ट्रिय रंगशालामा साँझ ८ बजे आयोजना गरिएको थियो ।
समारोहमा सहभागी टिमहरुको झण्डा प्रदर्शनका क्रममा दुई अफगानी खेलाडीहरुको साथमा अफगानिस्तानको झण्डा प्रदर्शन गरिएको थियो । जहाँ सत्ता पलटपछि तालिवानीहरुले सत्ता हातमा लिएका छन् । दुई अफगानि खेलाडीहरुलाई भने त्यहाँ सत्ता परिवर्तनको अन्तिम घडिमा पाराओलम्पिक आयोजकले उद्दार गरि अन्य देशमा राखेर जापान सहभागीताको लागि पठाएको थियो ।
समारोहमा जापानी टिम राष्ट्रिय झण्डा फहराउँदै अन्तिममा प्रवेश गरेको थियो । टेबल टेनिस खेलाडी कोयो ईवाबुचीले सो अवसरमा कला अभिनय प्रस्तुत गरेका थिए ।
झण्डा हस्तान्तरण समारोहमा पाराओलम्पिकको झण्डा आगामी आयोजक शहर पेरिसलाई हस्तान्तरण गरिएको थियो । फ्रान्सको राजधानी पेरिस शहरमा सन् २०२४ अगस्ट २८, देखि सेप्टेम्बर ८ तारिखसम्म आगामी पाराओलम्कि खेल आयोजना गरिने कार्यतालिका रहेको छ ।
आयोजक टोकियो शहरका गर्भनर कोइके युरिकोले अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिका अध्यक्ष मार्फत पेरिश शहरका मेयर हिदाल्गोलाई पाराओलम्पिकको झण्डा हस्तान्तरण गरेकी हुन् ।
त्यस पश्चात खेल आयोजक समितिका अध्यक्ष हाशिमोतोले ओलम्पिक खेल समापन समारोहलाई सम्वोधन गर्दै भनिन्-‘म तपाईंहरुको जबरदस्त प्रदर्शन देखेर आश्चर्यचकित भएको थिएँ । यसले हाम्रो मुटुमा सीधा र गहिरोसँग छाप पारेको छ । हामी एक अर्काको मतभेदलाई स्वीकार गर्दछौं र एक अर्कालाई समर्थन गर्दछौं अर्थात् हामीहरुबिच कुनै भेदभाव छैन । हामी विविधतायुक्त सद्भाव सहितको भविष्य निर्माणका प्रतिज्ञा गर्दछौं । मँ ओलम्पिक र पाराओलम्पिक्सको मूल्य र मान्यतामा विश्वास गर्दछु ।’
हाशिमोतोको सम्वोधन पश्चात पाराओलम्पिक अध्यक्ष पार्सन्सले खेल समापनको घोषणा गरे र पाराओलम्पिकमा प्रज्वलित मशाल निभाइएको थियो ।
गत महिना १२ तारिख यता पाराओलम्पिकका खेल सम्वद्ध खेलाडी र अन्य व्यक्ति गरेर ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन् । जसमध्ये एक खेलाडी संक्रमणको कारण अस्पताल भर्ना भएका छन् ।
ओलम्पिक र पाराओलम्पिक खेल अनिश्चय र घरेलु बिरोधका बिच जापानले सफलतापूवर्क सम्पन्न गरेको छ ।
पाराओलम्पिक खेलमा आयोजक देश जापानले १३ स्वर्ण पदक सहित ५१ पदक जितेको छ । जुन अघिल्लो पाराओलम्पिक भन्दा पदक संख्याका आधारमा धेरै हो । पदक संख्यामा आधारमा जापान ११ औं नम्वरमा रहन सफल भएको छ ।
चीनले ९६ स्वर्ण पदक सहित पाराओलम्पिकमा एकछत्र वर्चस्व कायम गर्यो । सर्वाधिक पदक संख्या बटुल्ने क्रममा चीनले ३८ रजत र ४५ कास्य गरेर २०७ पदक हात पारेको छ ।
दोस्रोमा रहेको बेलायतले ४१ स्वर्ण पदक सहित १२४ पदक प्राप्त गरेको छ । यसैगरि अमेरिका ३७ स्वर्ण सहित १०७ पदक, रसियन पाराओलम्पिक कमिटि ३६ स्वर्ण सहित ११८ पदक पाएर चौथो स्थानमा रहेको छ ।
खेलमा सहभागी १६२ देश तथा क्षेत्रहरु मध्ये केवल ७८ देशले मात्र पदक हात पारेका छन् । नेपालको भने यसपटक पनि ओलम्पिक सहित पाराओलम्पिक खेलमा केही राष्ट्रिय किर्तिमान बाहेक पदकको आधारमा सहभागीतामै सिमित हुन पुगेको छ ।