तीजको रौनक जिग्री दोहोरी साझँ ओशाकामा

-


     जनहित न्युज    
     श्रावण २१ गते २०८२


परदेशको व्यस्त जीवनशैलीबीच पनि नेपाली संस्कृतिको उज्यालो फैलाउने उद्देश्यसहित जापानको ओसाका स्थित जिग्री दोहोरी साँझमा “दर खुवाउने विशेष कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रमले ओसाका र आसपासका शहरहरूमा बसोबास गर्दै आएका नेपाली महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता बटुल्दै नेपाली संस्कार, भाव र समर्पणलाई जीवन्त बनाएको देखियो।

कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरूले परम्परागत तीज गीतमा नाच्दै, दरका परिकारहरू सँगै रमाइलो गफगाफ, अनुभव साटासाट र आत्मीय भेटघाटमार्फत आफ्नो घरदेशको सम्झनामा झल्किएको भावनालाई साझा गरे। तीजको सांस्कृतिक महत्त्व र महिला आत्मबलसँग जोडिएको गहिरो पक्षलाई कार्यक्रमले विशेष स्थान दिएको देखिन्थ्यो।

कार्यक्रमका प्रमुख आयोजक तथा समाजसेवी नारायण थापाका अनुसार, “परदेशमा पनि यस्तो चाडपर्वलाई आत्मीयताको साथ मनाउँदा हामीले आफ्ना सस्कृति, संस्कार र स्वाभिमान बिर्सदैनौं। यस्तो आयोजनाले भावनात्मक सम्बन्ध गास्नुका साथै प्रवासमा संस्कृतिको मौलिकता जोगाउने प्रयास समेत रहेको बताए। थापा हाल घुम्टे युवा परिवार जापानका अध्यक्ष तथा एनआरएनए जापान, कान्साई क्षेत्रका उप–संयोजक समेत हुनुहुन्छ। उहाँको अगुवाइमा गरिएको यस आयोजनाले ओसाकामा बसेका परदेशी नेपालीबीच समन्वय, सद्भाव र सहकार्यलाई बलियो बनाएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा दरका परिकारहरू – सेलरोटी, मासु, अचार, खिर, तरकारी लगायतका स्वादिला व्यञ्जनहरू प्रस्तुत गरिएका थिए भने, सांगीतिक प्रस्तुति, तीज गीतमा आधारित सामूहिक नृत्य तथा फोटो सेसनले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।

जिग्री दोहोरी साँझका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्ता संस्कृतिक, सामाजिक र सामुदायिक एकताको सन्देश बोकेका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन्।

यसरी, परदेशमा भए पनि नेपाली संस्कृति र पर्वहरूको आत्मीय र उत्सवमय रूपले मनाइरहन सकिन्छ भन्ने उदाहरण जिग्री दोहोरी साझमा आयोजना गरिएको यो कार्यक्रमले स्पष्ट रूपमा देखाएको छ। २७० भन्दा बढी महिला सहभागी भएको यस कार्यक्रमले ओसाका क्षेत्रमा हालसम्मको सबैभन्दा ठूलो तीज–केन्द्रित दर कार्यक्रमको रूपमा नयाँ कीर्तिमान पनि राखेको आयोजकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?