नेपाली राजदूतावास, जापानको पहल र जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा जापानको राजधानी टोकियोमा जापान-नेपाल विकास मञ्च ( Japan-Nepal Development Forum) को स्थापना भएको छ ।
नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण एवं नेपाल र जापानको व्यापार प्रबर्द्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो ।
सोमबार गठन गरिएको उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री श्री मोतोयुकी ओदाची रहेका छन । जापान सरकारका विपद व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री महामहिम श्री कोइची तानी र जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्घाटन भएको उक्त मञ्चको उपाध्यक्षमा सर्वश्री योशिहारु कोमियामा, हिरोयुकी फुकुयामा, डा. तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुलाई चयन गरिएको छ । जापान-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चको पदेन संरक्षक रहने व्यवस्था गरिएको छ ।
मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान सरकारका विपद व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री महामहिम तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताए । “जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको छ ।”राज्यमन्त्री तानीले भने-यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा जापान- नेपाल विकास मञ्च एक कोशेढुङ्गा सावित हुने छ ।
सोहि समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै जापानका लागि नेपाली राजदूत डा. सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।
“नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ ।” राजदूत डा. सुवेदीले भने- राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध छ ।
नेपाललाई वैदेशिक लगानीको एक उच्चतम र आकर्षक गन्तव्यको रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिकासाथ लगानीमैत्री वातावरण निर्माण गर्न आफू प्रयत्नशील रहेको राजदूत डा सुबेदीले बताए ।
समारोहमा धन्यवाद मन्तव्य व्यक्त गर्दै मञ्चका नवनियुक्त अध्यक्ष तथा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रबर्द्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताए ।
नेपाल र जापान दुई मुलुकबीचको सरकारी सम्बन्धका साथसाथै व्यापार, पर्यटन, लगानी र रोजगारीका क्षेत्रहरूलाई अघि बढाउन एउटा स्थायी संयन्त्रको स्थापनाका लागि गरेको पहलबाट आज जापान-नेपाल विकास मञ्चले सार्थकता पाएको बताइएको छ।
जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (JICA) र जापान बाह्य व्यापार संगठन (JETRO) का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा संलग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।