एनआरएनए नागोयामा लफडा

- अधिवेशन प्रभावित हुनसक्ने

-


     कविकिरण न्यौपाने    
     जेठ २२ गते २०७८


नागोया/ एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको अधिवेशनको मिति नजिकिदा बिवाद उत्पन्न रहेको छ। पछिल्लो समय नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उमेदवारीलाई लिएर विवाद उत्पन भएको हो।

संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनि विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनि विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी ( रामवहादुर खत्री ) ले उजुरी गरेका हुन्। क्षेत्रिय समितिको संयोजकको उमेदवार हुन बिधान को ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्यसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्दछ भनिएको र मनोजवम मल्लले उक्त नियम पालना नगरेको केसी र घर्तिमगरको तर्क छ।

अझ विधानको २. २७ मा कार्यकाल भन्नाले पदमा नियूक्ति वा निर्वाचित भएर सपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधी लाई भनि प्रष्ट पारेको उनि बताउँछन् । क्षेत्रिय समिति नागोयाको वर्तमान कोषाध्यक्ष समेत रहेका गंगा धर्तिमगरका अनुसार वममल्ल गत क्षेत्रिय समितिमा कार्य समिति सदस्यमा चुनिएका हुन् । पछि उपाध्यक्ष पद रिक्त भएपछि केहि महिना अघि मात्र उनलाई उक्त पदमा राखिएको थियो। अधिवेशनमा चोर बाटोबाट आउन नहुने उनको तर्क छ।

संयोजकका प्रत्याशी मनोजवम मल्लका अनुसार त्यस विषयमा निर्णय गर्न विधान कमिटि ,निर्वाचन कमिटि छ , सम्बन्धित निकायले गरेको निर्णय आफुलाई मान्य हुने उनको भनाई छ। चुनाबमा हार व्यहोर्ने देखे पछि यस्तो बखडा गरिएको मल्लको धारणा छ। यसअघिनै जुन ६ तारिक आईतवार हुने अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको थियो। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्।

निर्वाचन समितिका संयोजक रहेका विमल अधिकारी अनुसार आफुहरुले निर्वाचनको सम्पूर्ण गतिविधी प्रकृया अनुसार गर्ने ,सकेसम्म सर्वसहमत समिति चयन होस भन्ने आफुहरुको धारणा रहेको बताए। उमेदवारी दर्ताको समय सकिए पछि पनि उमेदवारी दर्ताको लागी केहि आबेदन आएको र त्यस्ता आबेदनलाई रद्द गरिएको अधिकारी बताउँछन् ।

हुन त नागोयामा यस्तो लफडा नयाँ भने होईनन । केही वर्ष अघि मात्र एनआरएनए, जापानको निर्वाचनमा धाँदली भएको भन्दैं पून : निर्वाचन गरिएको ईतिहास छ। त्यस्तै एनआरएनएमा हुने यस्ता प्रतिस्प्रधा स्वच्छ नहुने जानकारहरु बताउँछन । नागोयामा हुन लागेको यस क्षेत्रिय अधिवेशनमा संयोजकका उमेदवार अर्जुन केसीलाई एनआरएनए आईसिसिका मानार्थ सदस्य डिलाराम खरेलको निकट रहेको र मनोजवम मल्ल एनआरएनए एशिया प्यासिफिकका उप- संयोजक पारशमणि पोखरेल र गंगा घर्तिमगर एशिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठको निकट रहेको चर्चा छ।

समिति सर्वसहमतबाट चयन नभए जुन १० तारिक अनलाईन भोटिङ्ग बाट समिति चयन गरिने बताइएको छ। एनआरएनए जापानको पहिलो क्षेत्रिय समिति रहेको नागोयामा १५ सय हाराहारीमा एनआरएनएका सदस्यहरु रहेका छन्। एनआरएनए नागोयाको उप- संयोजकमा भेषनाथ गौतम (कृष्ण), योमन देवान , सविन राई र इन्द्र पराजुलीको उमेदवारी परेको छ। जस मध्ये २ जना छानिने छन्। महिला तर्फ उपाध्यक्षमा संम्झना पण्डित र्निविरोध भएकी छिन्l सचिवमा भने विष्णुबहादुर कार्की, रामकुमार थापा, भानुभक्त पुरी र भैरवप्रसाद अधिकारीको उमेदवारी परेको छ। सह – सचिवमा निलम राउत, प्रवन पाण्डे, गोविन्द्र प्रसाद भूषाल र शिवलाल न्यौपाने प्रतिप्रधा गर्दै छन्। जस मध्ये २ जना छानिने छन्।

कोषाध्यक्षमा भने यमवहादुर पाइजा र्निविरोध भएका छन्। सह – कोषाध्यक्षमा भने सुवास पाण्डे, सरोज वडाल, जिवनाथ घिमिरे र ईश्वर वस्नेतको उमेदवारी परेको छ। ४ जना आवश्यक सदस्यका लागी सागर थापा, दलवहादुर कार्की, मित्रलाल सिग्देल, नरेश राई, रमेश श्रेष्ठ, कुशल पौडेल, विप्लप श्रेष्ठ र राजेश अधिकारी चुनावी मैदानमा छन्। विद्यार्थी तर्फ भने कार्य समिति सदस्यमा सुजन कार्की र्निविरोध भएका छन्।

लामो समय नागोयामा रहि एनआरएनएको गतिविधीलाई नजिकबाट निहाल्दैं आएका सञ्चारकर्मी भवानी पन्तका अनुसार केहि समय देखि एनआरएनएमा युवा शक्तिको आकर्षण बढ्नु राम्रो कुरा हो , र पनि संस्थाको मुटु मानिने विधान एवं महत्वपूर्ण दस्ताबेजको सहि अध्ययन र संप्रेषण नहुनुले कतिपय अबस्थामा समस्या श्रृजना हुने गरेको बताउछन । अग्रज भन्नेहरुले नै आफ्ना व्यक्तिगत व्यवहार अनि इगोलाई संस्थामा जोड्दा समस्या आउने गरेको उनका पछिल्ला घटनाक्रमले देखाऊदछ । जव सम्म समाज सेवामा अग्रसर देखिएका युवाहरुलाई संस्थाको बारेमा सहि र बिधिबत कुराहरु संप्रेषण गर्ने तथा सिकाऊने गरिदैन तब सम्म सहि समाज निर्मार्ण हुन नसक्ने उनको तर्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?