
Screenshot
टोकियो, जापान ।
“बेहोसपछि होसमा आउँदा क्या दामी भो…” जब सुगम संगीतका नक्षत्र शिव परियारले टोकियोको हलमा यो गीतको आलाप लिए, तब दर्शकदीर्घामा रहेका सयौँ नेपालीहरूले एकै स्वरमा साथ दिए। नयाँ वर्ष २०२६ को स्वागतार्थ जापानका मुख्य शहरहरू ओसाका, नागोया र टोकियोमा आयोजना गरिएको ‘सांगीतिक श्रृंखला-२०२६’ केबल एउटा सांगीतिक कार्यक्रम मात्र रहेन, यो त प्रवासमा नेपालीपन, परोपकार र एकताको एउटा उत्सव बन्यो।

सांगीतिक माहोल र कलाकारको जादु
डिसेम्बर ३१ देखि जनवरी २ सम्म जापानका प्रमुख शहरहरूमा नेपाली संगीतका चर्चित हस्तीहरूले आफ्नो गायकीको जादु छरे। करिब दुई दशकदेखि नेपाली सुगम संगीतमा राज गरिरहेका शिव परियार, पछिल्लो समयकी व्यस्त र लोकप्रिय गायिका समिक्षा अधिकारी, मौलिक लोक-संगीतका साधक रामकृष्ण बम मल्ल र परदेशी गायकको छवि बनाएका सूर्य खड्काको दमदार प्रस्तुतिले जापानबासी नेपालीलाई नयाँ वर्षमा भरपुर मनोरञ्जन दिलायो।


शिव परियारको सुमधुर स्वरदेखि समिक्षा अधिकारीको ‘शिरमा शिरबन्दी’ र ‘माया नमारे’ जस्ता हिट गीतहरूमा दर्शकहरू झुमेका थिए। त्यतिले मात्र नपुगेर मौलिक सालैजो र ‘ढुङ्गे धाराको’ जस्ता लोकभाकाहरूले गाउँबेसीको झझल्को दिलाउँदा हलभित्रको वातावरण उत्साहजनक बनेको थियो।


परोपकारका लागि सांगीतिक अभियान
सन् २००६ मा स्थापना भएको गलकोट समाज जापानले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षको सांगीतिक श्रृंखलालाई ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने पवित्र उद्देश्यका साथ आयोजना गरेको हो।

समाजका अध्यक्ष रत्नसिंह बस्नेतका अनुसार, ओसाका, नागोया र टोकियोमा भएका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। यस्तै, महासचिव दिलिप कँडेलले जन्मभूमिको माटोप्रति केही गरौँ भन्ने हुटहुटीलाई यो सांगीतिक श्रृंखलामार्फत प्रत्यक्ष देख्न पाइएको र यसले जापानबासी नेपालीलाई जोड्ने सेतुको काम गरेको बताउनुभयो।

ओसाकादेखि टोकियोसम्मको यात्रा
- ओसाका: डिसेम्बर ३१ मा समाजका संरक्षक आत्माराम गैरेद्वारा उद्घाटन। स्वागत क्षेत्रीय अध्यक्ष नरबहादुर थापा र उद्देश्य बारे क्षेत्रीय संयोजक नारायण थापाले प्रकाश पारेका थिए।
- नागोया: जनवरी १ मा संरक्षक मोहन खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न। क्षेत्रीय अध्यक्ष उद्धव पाण्डेले स्वागत र क्षेत्रीय कार्यक्रम संयोजक रामबहादुर थापाले उद्देश्य बारे जानकारी गराएका थिए।
- टोकियो: जनवरी २ मा गैरआवासीय नेपाली संघ (NRNA) का उपाध्यक्ष रोबिन शेरचनको प्रमुख आतिथ्यतामा समापन। क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रमको औचित्य बारे क्षेत्रीय कार्यक्रम संयोजक लक्ष्मण कार्कीले प्रकाश पारेका थिए भने कार्यक्रम संयोजक दिल बहादुर थापा ‘रामु’ ले सम्पूर्ण क्षेत्रमा सहयोग गरने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
उत्साहपूर्ण सहभागिता र लक्की ड्र
तीन वटै शहरमा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी दर्शकहरूमध्येबाट गरिएको लक्की ड्रमार्फत एक जोड़ींलाई भियतनाम भ्रमणको प्याकेज समेत परेको छ, उक्त लक्की ड्रबाट टिकट नम्बर ९३८ लाई भियतनाम घुम्ने प्याकेज परेको छ । उक्त प्याकेजको प्रायोजन इभेन्ट पार्टनर ‘सुमेघ ग्रुप नेपाल’ अन्तर्गत सुमेघ होलिडेज् गरेको समाजले जनाएको छ।
“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध गराऔँ” भन्ने मूल नाराका साथ स्थापित गलकोट समाजले यस कार्यक्रममार्फत संकलित रकम गलकोट क्षेत्रको शैक्षिक र स्वास्थ्य विकासमा खर्च गर्ने जनाएको छ।






