
Screenshot
टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष डा. हेमराज शर्माले संघभित्रको एकता नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ। एनआरएनए जापानले आइतबार (४ जनवरी, २०२६) टोकियोको शिनजुकुस्थित गाजेबो टोकियो (Gazebo Tokyo) मा आयोजना गरेको ‘परिचय, अन्तरक्रिया तथा शुभेच्छा आदान-प्रदान’ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले आफू ‘एकताको सन्देश’ लिएर जापान आएको स्पष्ट पार्नुभयो।
सम्बोधनका क्रममा शर्माले लोकतान्त्रिक प्रक्रियामा चुनाव एउटा पाटो मात्र भएको उल्लेख गर्दै भन्नुभयो, “चुनाव हार्दैमा संसार सकियो भन्ने भ्रम कसैले पाल्नु हुँदैन। हार-जित भन्दा ठूलो कुरा संस्थाको हित र एकता हो”। उनले एनआरएन अभियानलाई थप सशक्त बनाउन विगतका तिक्तता बिर्सेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उपाध्यक्षद्वयको एउटै स्वर: ‘हामी मिलेर जान्छौँ’ कार्यक्रममा संघका अर्का उपाध्यक्ष रोबिन शेरचनको पनि उपस्थिति थियो। सो अवसरमा उपाध्यक्ष शर्माले शेरचनतर्फ संकेत गर्दै आफूहरू दुवै जना मिलेर अघि बढ्ने सार्वजनिक उद्घोष गर्नुभयो। आगामी फेब्रुअरी तेस्रो साता हुने भनिएको एकता महाधिवेशनका लागि शर्मा र शेरचन दुवैले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। तर, जापानको मञ्चबाट दुवै नेताले एकताको पक्षमा उभिने प्रतिबद्धता जनाएपछि गैरआवासीय नेपालीहरू माझ सकारात्मक सन्देश गएको छ।
एजेन्डा: एकता महाधिवेशन र आगामी कार्यदिशा अन्तरक्रियामा एनआरएन अभियानको समसामयिक अवस्था, पछिल्ला एकता प्रयासहरू तथा प्रस्तावित एकता महाधिवेशनका प्राविधिक एवं नीतिगत विषयमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा एनआरएनए जापानका पदाधिकारीहरू र जापानवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले संघभित्रको विवाद अन्त्य गरी सबै पक्षलाई समेटेर लैजान नेतृत्वलाई सुझाव दिएका थिए।
फेब्रुअरीमा हुने महाधिवेशनले एनआरएनएको भविष्यको मार्गचित्र तय गर्ने भएकाले पनि अहिलेको नेतृत्व तहको दौडधुप र एकताको प्रयासलाई निकै चासोका साथ हेरिएको छ।



