एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल र आलसको महत्व बुझाएकी थिइन् । त्यो सिकेर मैले युवती र महिलालाई हड्डी मजबुत पार्न तिल, आलस र मुंग्रेलो खाने सल्लाह दिने गरेकी छु ।
हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु ।यिनमा अनेक पोषक तत्व पाइन्छ । 5 वर्षजति भयो, यो सुरु गरेको
कति महिला त क्याल्सियम चक्की खाए हाड बलियो हुन्छ भन्ने ठानेर आफैँ किनेर खान्छन् । तर, घरमै पाइने स्वस्थकर वस्तु प्रयोग गर्न जान्दैनन् ।
दुई सय रुपैयाँमा आलस, तिल, ज्वानो, मुंग्रेलो किनेर एक–एक चम्चा प्रत्येक दिन खाँदा पनि तीन–चार महिनालाई पुग्छ । तर, दुई सयको क्याल्सियमले कति दिन पुग्छ ?
सस्तोमा पाइने स्वस्थवर्धक खानेकुराको महत्व बुझे स्वास्थ्य राम्रो रहन्छ र पैसाको पनि बचत हुन्छ ।
कस्तुरी मृगझैँ आफूसँग रहेको मालको चाल नपाएर बाहिर–बाहिर भौँतारिने बानीले गर्दा हामीले हाम्रो रैथाने ज्ञान बिर्सिंदै छौँ, नचाहिने ठाउँमा बढी पैसा तिर्छौं । भिटामिन ‘डी’को कमीले गर्दा धेरै महिलाको स्वास्थ्यमा समस्या परेको स्वयं चिकित्सकहरू नै स्विकार्छन् । कतिले त जाँच गराएर भिटामिन ‘डी’ चक्की खान दिइहाल्छन्, तर ८० प्रतिशत भिटामिन ‘डी’ घामबाट प्राप्त हुन्छ भनेर चाहिँ कतै छलफल गरिन्न । सायद सूर्यलाई बिहान नमस्कार गर्नुको अर्थ नै हाम्रा पुर्खाले उसको ऊर्जाका लागि धन्यवाद दिएका होलान् ।
तर, सूर्यलाई एक सेकेन्डमा नमस्कार गरेर घरभित्र पस्दैमा फाइदा हुँदैन । अहिलेका आमाहरूले शिशुलाई परम्परागत चलनअनुसार घाममा राखेर तेल लगाउनुको सट्टा कोठामा राखेर पाउडर दल्छन् अनि शिशुलाई क्याल्सियम र भिटामिन ‘डी’ किनेर खुवाउँछन् । आँगनको औषधी लत्याएर महँगो चक्की किन किन्नु ?
यी शब्द लेखिरहँदा हजुरआमालाई सम्झिन्छु, जसले निरक्षर भएर पनि परम्परागत ज्ञान प्रयोग गरेर धेरै नातिनातिना हुर्काउनुभयो । उहाँले शिशुलाई पखाला लाग्दा मेथी, लसुन हालेर जाउलो पकाउनुहुन्थ्यो ।
पहिले–पहिले हजुरआमाले बच्चालाई ‘लपक्क छातीमा’ टाँसेर सुताउनुपर्छ भन्दा अचम्म लाग्थ्यो, आधुनिक विज्ञानले त यसरी छातीमा टाँस्ने प्रक्रियालाई ‘कंगारु मेथड’ भनेर नामै दिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यसलाई स्विकारेको छ ।
अहिले भिटामिन ‘सी’ले रोगसँग लड्ने शक्ति दिन्छ भनेर यसको ट्याबलेट किनेर खाने फेसन चलेको छ । तर, भिटामिन ‘सी’ पाइने अमला, अम्बा, कागती र टुसा उमारेका खानेकुराको चाहिँ वास्ता गरिन्न । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला ।
यी शब्द लेखिरहँदा हजुरआमालाई सम्झिन्छु, जसले निरक्षर भएर पनि परम्परागत ज्ञान प्रयोग गरेर धेरै नातिनातिना हुर्काउनुभयो । उहाँले शिशुलाई पखाला लाग्दा मेथी, लसुन हालेर जाउलो पकाउनुहुन्थ्यो ।
यस्ता हजारौँ उदाहरण छन्, जहाँ परम्परागत ज्ञानले मानव स्वास्थ्यमा गर्ने फाइदालाई विज्ञानले सिद्ध गरेको छ । यस ज्ञानमा कुनै एक व्यक्तिको अधिकार छैन । हजारौँ वर्षदेखि चलिआएको यो ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको हो ।
‘कागती र अदुवाको रुख भएको ठाउँबाट रोग भाग्छ’ भन्ने पुरानो चलन छ । तराईतिर कागतीको सर्बत पिइन्छ । तर, अहिले ठूला होटेलमा लेमन टी, लेमोनेड भनी महँगो मूल्य तिरेर खाने चलन छ । घरको कागतीको रस अपहेलित हुन्छ । घरमा १०–१५ रुपैयाँ खर्च गरेर कागतीको चिया पिउनुको साटो होटेलमा चार–पाँच गुणा बढी पैसा तिरिन्छ । कागतीको रस मात्र होइन, बोक्रा पनि त्यति नै लाभदायक हुन्छ भन्ने चाहिँ कमैलाई थाहा हुन सक्छ ।
कागतीको टुक्रामा नुन हालेर घाममा राखेपछि केही दिनमा मिठो ‘संकत्रो’ (निम्की) बन्छ । कागतीको बोक्रालाई टुक्रा–टुक्रा पारेर चपाउँदा पनि यसमा रहेको रेसादार पदार्थका साथै सूक्ष्म पोषण तत्वको फाइदा शरीरले पाउँछ ।
पानी, कागती र बिरेनुनमा चनाको सातु मिसाएर बिहानै नास्ता गर्ने तराईको चलन थियो, यसले गर्दा छिट्टै भोक लाग्दैन । शरीरमा प्रोटिन र सूक्ष्म पोषक तत्व पुग्छ । गर्मीमा शरीरबाट पसिना धेरै बग्दा रिंगटा लाग्ने समस्या न्यून हुन्छ । बिस्तारै सत्तु पिउने चलन फेरि फर्केको छ ।
सस्तोमा पाइने स्वस्थवर्धक खानेकुराको महत्व बुझे स्वास्थ्य राम्रो रहन्छ र पैसाको पनि बचत हुन्छ ।
भिटामिन ‘सी’ले विभिन्न संक्रमणबाट हामीलाई बचाउँछ । रुघाखोकी लागेका वेलामा तातोपानी वा चियामा कागती र मह हालेर पिउँदा सहज अनुभव हुन्छ ।
वाकवाकी लाग्दा, (विशेषगरी गर्भवती अवस्थामा हुने) कागती र अदुवाको प्रयोग गर्ने चनल थियो । अहिलेको विज्ञानले यो ठीक हो भनेर सिद्ध गरेको छ ।
मासको दाल, गेडागुडी र साग खाँदा कागतीको रस वा अचार पनि प्रयोग गर्दा यसले रक्तअल्पतालाई कम गर्न मद्दत गर्छ । भिटामिन ‘सी’ले लौहतत्वको शोषणमा मद्दत गर्छ भनेर विज्ञानले सिद्ध गरेको छ । यही वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर लौहतत्व पाइने औषधीमा भिटामिन ‘सी’ पनि मिसाइन्छ । तर, औषधी मिसाइएको भन्दा प्राकृतिक रूपले भोजनमा पाइने कागती, अमला, अम्बा सस्तो, गुणकारी र स्वादिष्ट हुन्छ । यस्तो परम्परागत ज्ञान गाउँघरका महिला–पुरुषसँग सिकेर यिनलाई जीवनमा प्रयोग गर्न सकिन्छ ।
आधुनिकताको दौडमा यस्ता महत्वपूर्ण, परम्परागत, रैथाने ज्ञान बिर्सेर चक्की, क्याप्सुलको पछि लाग्ने बानी हटाएकै बेस हुन्छ ।
यसको अर्थ आधुनिक चिकित्सा विज्ञानको महत्व नकार्नुचाहिँ अवश्य होइन । जब अस्पताल र चिकित्सकको जरुरत पर्छ, तब हामीले प्रयोग गर्नैपर्छ । तर, कतिपय सहज रूपले प्रयोग गर्न सकिने भोजन र स्वस्थ हुन सक्ने बानीको पनि विकास गर्नुपर्छ । यसले पैसा र स्वस्थ परम्परा दुवै बचाउँछ ।