भूकम्पबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, दर्जनौँ घर भग्नावशेषमा परिणत 

-


     जनहित न्युज    
     कार्तिक १८ गते २०८०


पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए।

जाजरकोटमा भूकम्पले मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको उनले बताए।

भूकम्पमा थुप्रै घाइते भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन गरिएको छ ।

डिएसपी रोकाका अनुसार भूकम्पमा परेर नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवासमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेको उनको भनाइ छ ।

यस्तै भूकम्पबाट रुकुम पश्चिममा पनि अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?