एनआरएनए चिबाद्वारा निबन्ध लेखन प्रतियोगिता घोषणा: प्रथम पुरस्कार ७० हजार येन

-


     जनहित न्युज    
     पौष १९ गते २०८२


टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापान, चिबा क्षेत्रीय समितिले जापानमा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले ‘दोस्रो निबन्ध लेखन प्रतियोगिता २०२६’ को घोषणा गरेको छ। नेपाली भाषा, साहित्यको प्रवर्द्धन र जापानको समसामयिक वस्तुस्थितिबारे वैचारिक मन्थन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको शीर्षक र उद्देश्य

यस वर्षको प्रतियोगिताका लागि “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” शीर्षक तय गरिएको छ। कार्यक्रम संयोजक तथा एनआरएनए चिबाका उपसंयोजक मोहन कार्कीका अनुसार, यस विषयले जापानमा रहेका नेपालीहरूको भोगाइ, चुनौती र अवसरलाई शब्दमार्फत अभिव्यक्त गर्ने प्लेटफर्म प्रदान गर्नेछ।

पुरस्कारको व्यवस्था

प्रतियोगितामा उत्कृष्ट ठहरिने निबन्धकारहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ:

  • प्रथम पुरस्कार: ७०,००० जापानी येन
  • द्वितीय पुरस्कार: ५०,००० जापानी येन
  • तृतीय पुरस्कार: ३०,००० जापानी येन
  • सान्त्वना पुरस्कार: ७ जनालाई जनही ५,००० जापानी येन

सहभागीताका लागि नियम र सर्तहरू

आयोजकले प्रतियोगितालाई मर्यादित बनाउन केही विशेष नियमहरू तय गरेको छ:

  • योग्यता: जापानमा बसोबास गर्ने विद्यार्थी, कामदार, आश्रित (Dependent) लगायत सबै नेपालीले भाग लिन पाउनेछन्। (अघिल्लो संस्करणका शीर्ष ३ विजेताले भाग लिन पाउने छैनन्)।
  • शब्द सीमा: निबन्ध कम्तीमा १२०० देखि बढीमा १५०० शब्दसम्मको हुनुपर्नेछ।
  • मौलिकता: निबन्ध पूर्णतः मौलिक र अप्रकाशित हुनुपर्नेछ। एआई (AI) वा डिजिटल टुल प्रयोग गरी लेखिएका निबन्धहरू स्वतः खारेज गरिनेछन्।
  • भाषा र ढाँचा: नेपाली भाषामा कम्प्युटर/मोबाइल टाइप वा स्पष्ट बुझिने हस्तलिखित निबन्ध स्वीकार गरिनेछ।
  • अनिवार्य कागजात: निबन्धसँगै प्रतियोगीको छोटो परिचय, सम्पर्क नम्बर र हालै खिचिएको फोटो पठाउनु पर्नेछ।

आवेदन दिने समय र प्रक्रिया

इच्छुक सहभागीले आगामी २०२६ जनवरी ९ देखि जनवरी ३१ तारिखभित्र एनआरएनए चिबाको आधिकारिक वेबसाइट (nrnachiba.com) वा फेसबुक पेजमा उपलब्ध गराइएको लिंकमार्फत आफ्नो सिर्जना पठाउनु पर्नेछ।

प्राप्त निबन्धहरू मध्येबाट उत्कृष्ट १० निबन्धलाई छनौट गरी पुस्तकको रूपमा समेत प्रकाशन गरिने आयोजकले जनाएको छ। थप जानकारीका लागि कार्यक्रम संयोजक मोहन कार्की (070-4496-0805) वा राजन बाबु सुवेदी (080-8398-1133) लाई सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?