जापानमा गर्मी बढेर ४१.१ डिग्रीसम्म पुग्यो, मानिसलाई बाहिर ननिस्कन आग्रह 

-


     जनहित न्युज    
     श्रावण १८ गते २०७९


जापानभर तापक्रम बढेर धेरै क्षेत्रहरूमा ४० डिग्री सेल्सियस भन्दा माथिको उच्च रेकर्ड कायम गरेकोले मौसम एजेन्सीले गर्मीसँग सम्बन्धित रोगहरूको चेतावनी जारी गरेको छ।
बुधबार तापक्रम उच्च रहने अनुमान गर्दै सरकारले पूर्वदेखि पश्चिम जापानसम्मका धेरै क्षेत्रलाई समेटेर सतर्कता जारी गर्दै गर्मीबाट बच्न पानी पिउन र बाहिर ननिस्कन आग्रह गरेको छ ।
२०१८ मा कुमागाया, साईतामा प्रिफेक्चरमा देशकै उच्च तापक्रम ४१.१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो र २०२० मा हमामात्सु, शिजुओका प्रिफेक्चरमा सोहि बराबर रेकर्ड रहेको मौसम एजेन्सीले जनाएको छ ।

मंगलबार टोकियोको उत्तरी क्षेत्र कोशिगाया र मध्य जापानको कोफुमा तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको छ भने मध्य टोकियोमा ३५.९ डिग्री सेल्सियस रहेको मौसम विभागले जनाएको छ।

राष्ट्रव्यापी ९१४ स्थानमा संकलन गरिएको तापक्रम मध्ये, ४ बजे सम्म ६५८ स्थानहरूमा तापमान ३० डिग्री सेल्सियस वा माथि बढेको देखाएको थियो भने २२४ स्थानमा ३५ डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो।

विश्वभर नै हालैका हप्ताहरूमा उच्च तापक्रमसँग रेकर्ड गरिएको छ। बेलायतमा पहिलो पटक जुलाईमा ४० डिग्री सेल्सियस भन्दा बढी रेकर्ड गरिएको छ, त्यस्तै संयुक्त राज्य अमेरिकामा दर्जनौं स्थानहरूमा गर्मी चेतावनी जारी गरिएको छ।
पोर्चुगलमा गर्मीसँग सम्बन्धित रोगका कारण १,००० भन्दा बढीको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?