
युरोपियन मुलुक स्पेनको बेनिड्रममा साँस्कृतिक मेला हुने भएको छ । आगामि अक्टोवर २० तारिक हिन्दुहरुका महान पर्वहरु बिजया दशमी, तिहार, नेपाल सम्वद छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक मेला आयोजना गरिएको हो ।
एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनको संयुक्त आयोजनामा संचालन हुने साँस्कृतिक मेलामा नेपाली लोक संगीतका चर्चित गायक मिलन लामा र रबिन लामिछानेले प्रस्तुति दिनुहुनेछ ।
एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यका अनुसार कार्यक्रममा चर्चित कलाकार आगमन सुनिश्चित भएको छ । ‘दर्शकको रोजाईका तथा चल्तीका सर्जक तथा गायकद्वय मिलन लामा र रबिन लामिछानेलाई हामिले कार्यक्रममा आमन्त्रण गरेका छौँ, बज्राचार्यले भन्नुभयो, प्रवासमा रहेर पनि नेपाली पर्वहरुलाई सास्कृतिक रुपमा जोड्दा संस्कृतिको संरक्षणमा टेवा पुग्ने बिश्वास लिएका छौँ ।
अध्ययन, व्यवसाय तथा रोजगारीको शिलशिलामा आफ्नो जन्मभुमिबाट टाढा रहेको अवस्थामा नेपाली पर्वहरुमा आम नेपालीहरुलाई एकताबद्ध गर्न साँस्कृतिक मेलाहरुले महत्व राख्दछ ।
हामी नेपालीहरुको एकता सदभाब र चाडपर्वको सन्देश तथा शुभेच्छा साट्न मेलाको आयोजना गरिएको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडीले बताउनुभयो । अध्यक्ष दुवाडीले प्रवासमा गरिने सबै प्रकारका कार्यक्रमले नेपालीपनको बिकास, संस्कृतिको संरक्षण र नेपालीपनको पुस्तान्तरणमा समेत अर्थ राख्दछ ।
आयोजकले बडा दशैँ, तिहार, नेपाल सम्वद, छठ तथा ल्होसारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिताको लागि कोष्टाब्लाङ्काबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह समेत गरेको छ ।
अक्टोवर २० तारिक आईतबार राती १० बजेबाट स्पेनको बेनिड्रम स्थित होटल ला मारिनाको हलमा संचालन हुने साँस्कृतिक मेलाको प्रवेश शुल्क १५ युरो तय गरिएको एनआरएनए कोष्टाब्लाङ्का कोषाध्यक्ष सुवास ओलीले जानकारी दिनुभयो ।
१६ वर्ष मुनिका बालबालिकालाई मेलामा निशुल्क प्रवेश दिईने ओलीको भनाई छ ।