
यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।यूएईलाई सस्तोमा समेट्न ललित राजवंशीले ४ विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए ।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।
वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र यूएईसहित १० राष्ट्रको सहभागिता रहेको थियो । नेपाल रहेको समूह ए मा मलेसिया, कतार, साउदी अरबिया र ओमान थिए । भने, यूएईको समूह बी मा कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।
नेपालले पहिलो समूह चरणको खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रोमा ओमानलाई ८४ रन र तेस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नेपाल साउदीसँग अंक बाँड्दै एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।
यूएईले समूह चरणको पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । भने, दोस्रो खेलमा हङकङले यूएईलाई डीएल मेथडमा ६७ रनले पराजित गर्यो ।

तेस्रो खेलमा सिंगापुरलाई २ सय १ रन र समूह चरणको अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएईले सेमिफाइनल यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा यूएई ओमानलाई डीएल मेथडमा २ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।
यो जितसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गरेको छ ।



