पहिलो दिन नै जापानको काइदाबाट प्रभावित भएँ

-


     मीना खड्का, हाल नागोया    
     असार १८ गते २०७९


नेपालमै राम्रो गर्न सक्ने मान्छे किन विदेशिने निर्णय गरेको? तिमी त यहीँ राम्रो गर्न सक्छौ, किन अर्काको देशमा जानुपर्यो? नेपालमै त्यस्तो राम्रो काम गर्ने मान्छे के देखेर जापान आएको होला? 
यात्रा तय गर्दा होस् या गन्तव्यमा पुगिसकेपछि, यस्ता कयौँ प्रश्न ममाथि वर्षिरहे। मेरो चाहना नबुझी सोधिएका यस्ता प्रश्नको जवाफ दिइरहन आवश्यक लागेन। कयौँलाई मुस्कुराउँदै टारेँ।

लाखौँ खर्च गरेर परदेश पलायन हुनु अरु नेपालीलाई जस्तै मलाई पनि रहर त पक्कै होइन। तर तपाईंहरुले सोचेको जस्तो नेपालमा निराश भएर म विदेशिएको पनि होइन।

६ जुनको दिउँसो ३ः१५ बजे हाम्रो नागोया, जापानको यात्रा तय भएको थियो। गत एक वर्षदेखि बस्दै आएको कीर्तिपुरको डेरा छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिर्दै गर्दा मेरो अनुहारमा कुनै उत्साह थिएन, न त म दुःखी नै थिएँ।

मान्छेलाई विस्तारै आफू जन्मेको ठाउँ, खेलेको माटो, पढेको विद्यालय साँघुरो लाग्न थाल्छ। आफूलाई हुर्काउने अभिभावक, पढाउने शिक्षक समेत सिधासाधा र नजान्ने लाग्न थाल्छन्। मलाई पनि विकसित देशबारे बुझ्ने र यहाँको अवसर भोग्ने चाहनाले नै यहाँसम्म डोर्याएको हो। 

हिँड्नुअघि अनुहार सामान्य बनाउनुका कारण छन्। अनुहारमा निराशा छायो भने ममी र ठूलोममीको आँखामा आँसु आउँछ भन्ने भय मुख्य कारण हो। त्यसैले बाहिर एक घण्टा बसुञ्जेल म शान्त देखिएँ।

विमानस्थलभित्र छिर्दै गर्दा भने मलाई छाड्न गएका सबैका आँखा आँसुले भरिएका थिए। परिवार, साथी सबैबाट टाढा हुनुपर्दा मेरो मन पनि बिथोलिएको थियो। तर कसैलाई नदेखाउन मैले आफूलाई बलियो बनाउने कोसिस गरिरहेँ। नेपाली समाजले अझै सजिलोसँग स्वीकार्न सक्दैन छोरी एक्लै घरबाहिर बस्ने कुरा। कतै न कतै जिम्मेवार मान्छे र उसको रक्षक खोजिरहेको हुन्छ परिवारले।

हामी चार जना सँगै एउटै कन्सल्टेन्सीबाट यो यात्रामा निस्केका थियौँ। त्यसैले एक्लो महसुस भएन। अधिकांश पढ्न र कमाउने सपना बोकेर जहाजमा चढेका थिए। जापानकै विभिन्न सहरमा जाने युवाको संख्या विमानमा धेरै थियो। 

एअर इन्डियाको विमान भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह ४ः३० पुग्यो। त्यहाँ ६ घण्टाको पर्खाइपछि नारिताका लागि विमान चढ्यौँ।

रातभरको उडानपछि हामी जापान पुगेको घोषणा गरियो। झ्यालबाट चियाउँदा समुन्द्रको माथिमाथि विमान उडिरहेको थियो। विमानस्थलमा जहाज अवतरण गरेपछि सबै यात्रुलाई विस्तारै आफ्नो सामान लिन र समाजिक दुरी कायम गर्दै बाहिर निस्कन भनियो। 

जहाजबाट बाहिर निस्कँदै गर्दा ढोकामा लहरै उभिएका परिचारकले आरिगातो गोजाइमास, सायोनारा भन्दै बिदा गरे। यस्तो सम्मान दिल्लीको विमानस्थलमा देखिएको थिएन। 

ह्यान्डब्याग लिएर केही समय फराकिलो प्यासेजबाट हिँडेपछि हामी ठूलो हलमा पुग्यौँ। त्यहाँ केही फारम भराइयो। 

विदेशबाट आउने तीन वटा खोप लगाएकाबाहेक सबैलाई तीन दिन क्वारेन्टाइन राखिन्थ्यो। तर, हामीले तीन वटा लगाएका थियौँ।

नारिताबाट नागोयाको लागि साँझको ६ बजे उड्यौँ र ७ बजेपछि नागोया पुगियो। कलेज र होस्टेल सहरको बीचमा थिएन। करिब एक घण्टाको बाटो ट्याक्सीमा जानुपर्ने भयो। दुई साथीलाई भने आफ्नो कलेजबाट शिक्षक लिन आएका थिए। हामी दुई जना भने ट्याक्सीमा जाने भयौँ।

केही बेरको प्रतीक्षापछि हामी एक नेपाली दाइकै ट्याक्सीमा बाटो लाग्यौँ। बाटोमा शिक्षक भेटिनुभयो। उहाँले भोलि १० बजे नै कलेज आउनु भन्दै साइकलको चाबी, सिमकार्ड र होस्टेलको ठेगाना दिएर जानुभयो। साथी विशालको होस्टेल नजिकै थियो, मेरो भने कलेजबाट टाढा थियो। 

रातभर जहाजमा निद्रा नलागेको हुनाले शरीर गह्रौँ भएको थियो। कतिबेला कोठामा पुगौँलाजस्तो भएको थियो। होस्टेल पुगेपछि मलाई लिन साथी आए। लगेज, ह्यान्डब्याग लिएर कोठामा राखिदिए। अनि खाना खाएर बसे। घरमा फोन गर्न खोज्दा कोही अनलाइन थिएनन्। पुगेपछि पो न्यास्रो लाग्यो। नचिनेका साथी, नयाँ ठाउँ, भोलिपल्ट बिहान १० बजे कलेजमा पुग्नुपर्ने बाध्यता। म निदाएँ।

म विस्तारविस्तार जापानको दिनचर्यासँग परिचित हुन थालेकी छु। केही समय भाषाको समस्या पर्ने देखिन्छ। नेपालमा दुईचार महिना पढेर आएको भाषाले मात्र जापानीहरुसँग बोल्न कठिन भइरहेको छ। 

जेब्रा क्रसिङको नियम पालना, समयनिष्ठता र यहाँको काइदा-थितिबाट म सुरुको दिनदेखि प्रभावित छु। कठिन भाषा पनि उदाहरण दिईदिई सिकाउने शिक्षकहरुको शैलीबाट पनि उत्तिकै प्रभावित छु। बाटोमा भेटिने र छोटो समय कुरा गर्नेहरु पनि भन्छन्– मेहनत गर।

मेरो कक्षाको एक नेपाली साथीले कलेज पुग्न १ मिनेट ढिला भएपछि निवेदन लेख्नुपर्यो। त्यसपछि अर्को पटक यस्तो गल्ती नदोहोर्याउन चेतावनीसहित उनलाई पढ्न दिइयो। 

मैले अघि पनि भनेँ, स्वदेशमा निराश भएर, केही गर्न नसकेर म विदेशिएको होइन। म यहाँको शिक्षा प्रणाली बुझ्न, पढ्न, सिक्न आएकी हुँ। 

आफू जन्मेको थातथलो छाडेर अर्कैको संस्कारमा रमाउन आइपुग्नु सुखद होइन। स्वदेशमै राम्रो शिक्षासँगै रोजगारी नपाउनु झन् ठूलो बिडम्बना हो। त्यसैले विदेशिँदा पनि बधाइ लेनदेन गर्नु हाम्रो बाध्यता। शुभेच्छु सबैलाई धन्यवाद!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?