जापान – जापान सरकारले कोभ्याक्स कार्यक्रमका लागि थप ८ सय मिलियन डलर सहयोग दिने भएको छ । कोरोना भाइरस विरुद्धको खोप गरिब राष्ट्रहरुमा पनि उपलब्ध गराउने कार्यक्रमलाई जापानले थप आर्थिक सहयोग गर्ने भएको हो ।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका जापानी पत्रिका माइनिचीलाई उधृत गर्दै अलजजिराले लेखेको छ । जापानले यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि २ सय मिलियन डलर सहयोग घोषणा गरेकामा अब ८ सय मिलियन डलर थप गर्ने भएको हो ।
खोपको आवश्यकता भएका राष्ट्रहरुलाई समान रुपमा खोप उपलब्ध गराउने कार्यक्रमका लागि जापानले सहयोग थप गर्ने भएको समाचारमा उल्लेख छ । जापानले कोरोना खोप अभियानको छलफलका क्रममा सहयोग थप गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । उक्त छलफलमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अर्बपति बिल गेट्ससहित जी सेभेन राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहको थियो ।